कास्कीमा थपियो लकडाउन, सवारीमा फेरि जोर बिजोर प्रणाली लागू

पोखरा । कास्कीका भदौ ३ गते देखि सवारी साधनहरूमा जोर बिजोर लागू भएको छ । निषेधाज्ञाबारे आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालयले निजी र सार्वजनिक सवारीमा जोर बिजोर लागू हुने जनाएको हो । कास्कीमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।
यसै गरी मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरू स्वास्थ्य मापदण्ड पूरा गरि सञ्चालनमा आउने छन् , कास्कीभित्र चल्ने निजी सवारी साधन र ट्याक्सीको हकमा चालकसहित बढीमा चार जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।
यस्तै मोटरसाइकल तथा स्कूटरले पनि मापदण्ड अपनाएर सञ्चालन हुन पाउनेछन् । यस्तै विश्वविद्यालय, क्याम्पस एवं माध्यमिक विद्यालयहरूले पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरू कडाइका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाइन प्रविधिबाट सञ्चालन गर्न सक्नेछन् ।
यस्तै होटेल तथा रेस्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने भएका हुन् । होटेलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रबन्ध गर्न सक्ने छन् । तर, एक घरका परिवारबाहेक एक कोठामा एक जनाभन्दा बढी व्यक्ति राख्न पाइने छैन ।
पूर्वनिर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जनाभन्दा बढी व्यक्ति सहभागी गराउन नपाइने उल्लेख छ । तोकिएका पसलहरू बाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ देखि राति ८ बजेसम्म खोल्न पाइनेछ । प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटेल, रेष्टुरेन्ट, होटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर,स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायतका व्यवसाय खोल्न निषेध गरेको छ ।यसै गरी सभा, सम्मेलन, बैठक, तालिम सेमिनार, मानिस जम्मा हुने वा भिडभाड हुने लगायतका कार्य सञ्चालन गर्न समेत रोक लगाइएको छ
जिल्ला प्रशासनले कार्यालय कास्कीले सार्वजनिक सवारीको ढोकामै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने,यात्रु र चालकले अनिवार्य मास्क लगाउनुपर्ने र सहचालकले अनिवार्य मास्कसहित फेसशिल्ड र पञ्जा समेत लगाउनुपर्ने आदेश जारी गरेको छ । निषेधाज्ञा भदौ १० गते मध्यरातसम्म लागू हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्