गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पोखरा। कतारको गण्डकी प्रदेश समन्वय परिषदद्धारा पोखरा स्वास्थ्य विज्ञानको क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल) लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
मङ्गलवार प्रतिष्ठान अन्तर्गतको प्रसूति तथा स्त्री रोग भवनमा आयोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काको हातबाट प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्री र निर्देशक प्रा. डा. भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा मन्त्री कुमार खड्काले शिक्षा र स्वास्थ्य अपरिहार्य भए पनि राज्यको ध्यान पुग्न नसकेको वताउनुभयो । पछिल्लो समयमा कोरोनाका कारणले मात्रै स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको भन्दै अबको केही वर्षमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आउने दावी समेत गर्नुभएको छ ।

प्रवासमा रहेका नेपालीले आफ्नो गाँस काटेर गण्डकी अस्पताललाई सहयोग गरेको भन्दै मन्त्री खड्काले गण्डकी अस्पताललाई सुव्यवस्थित बनाउन सबैको सहयोग र तत्परता आवश्यक हुने बताउनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीले प्रतिष्ठान विकासको क्रममा रहेकाले सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । प्रवासी नेपालीद्वारा प्राप्त सहयोग सामग्रीको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
समाजसेवी तथा एनआरएनए आइसीसीका पूर्व सदस्य विमल सुवेदीले आफ्नो जन्मस्थानको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । आफूहरूको सहयोग सही सदुपयोग हुनुपर्नेमा समेत जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्