जुम्लामै चिकित्सा शिक्षाको पाठ्यक्रम तयार गर्दै कर्णाली प्रतिष्ठान

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पश्चिम नेपालकै उत्कृष्ट तथा स्तरीय चिकित्सा शिक्षा अन्तर्गतका विभिन्न तहका पाठ्यक्रम निर्माण गर्दै आएको छ । कर्णाली प्रतिष्ठानले पश्चिम नेपालमै पहिलो चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउन थालेको हो । स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणका लागि जुम्लामा एक दर्जन बढी चिकित्सा क्षेत्रका प्राध्यापक, सहप्राध्यापकहरू र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुखहरू सहितका विज्ञहरू जुटेका छन् ।
प्रतिष्ठानले स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माणको काम जुम्लामै टुङ्गाएर अन्तिम चरणमा पुराएको छ । जुम्लामै नर्सिङ तहको उच्च स्तरको कक्षा सञ्चालन तथा पश्चिम नेपालमै पाठ्यक्रम फिँजाउने गरी जुम्लाका समस्या सामाजिक विषयवस्तु केन्द्रित चिकित्सा शिक्षाको पाठ्यक्रम बनाउन शुरु गरेको कर्णाली प्रतिष्ठानले जनाएको छ ।
जुम्लामा सोमबार एक औपचारिक कार्यक्रम मार्फत प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ तहको पाठ्यक्रम निर्माणको अन्तिम तयारी भएको जनाकारी दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले यस पटक स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानले आफै एमबिबिएस, विएनएस, विएमएस, विपिएच, एमडिएमस, एमएससि ईपिडिमियोलोजी, ब्याचलर न्यूट्रेसन सहितका विभिन्न पाठ्यक्रमहरू यस अघि निर्माण गरिसकेको छ । भने, भर्खरै जुम्लामा शुरु हुन थालेको (मास्टर्स अफ नर्सिङ) तहको पाठ्यक्रम निर्माण गरी अन्तिम चरणमा पुगेको शिक्षा अध्यक्ष थापाले बताउनुभयो ।
जुम्लामै निर्माण भएको पाठ्यक्रमले पश्चिम नेपालका आर्थिक, सामाजिक, समस्या, चुनौती अवसर तथा समग्र स्वास्थ्य क्षेत्रका समस्याका बारेमा बोल्ने बताउनुभयो । पश्चिम नेपालमै स्तरीय खालको पाठ्यक्रम बन्ने समेत थापाको दाबी छ ।
प्रतिष्ठानले जुम्लामा गत बर्ष विएनएस तहको पाठ्यक्रम समेत बनाइसकेको छ । भने, यस वर्ष दर्जनौँ प्राध्यापकहरूको सहभागितामा प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ पाठ्यक्रम निर्माण गरेको नर्सिङ डीन सहायक प्राध्यापक डाक्टर सरस्वती गौतमले बताउनुभयो । उहाँले जुम्लामा आफ्नै हातबाट पाठ्यक्रम बनाएर कर्णालीकै भूगोल केन्द्रित पाठ्यक्रम पढाउने अवसर मिल्दा निकै खुसी व्यक्त पाउँदा खुशी व्यक्त गर्नुभयो ।
जुम्लाको होटल कान्जिरोवामा शुरु भएको दुई दिने पाठ्यक्रम विकास कार्यशालामा नर्सिङ डीन गौतमले हामीले केही दिनमा नर्सिङ उच्च तहको पाठ्यक्रम अन्तिम रूप दिने चाडै कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पाठ्यक्रमको मस्यौदामा सुझाव दिँदै कुनै बेला डाक्टर नपाउने जुम्लाले अहिले डाक्टरहरूकै भेलाले जुम्लामै पाठ्यक्रम तयार हुनु गौरवको विषय भएको बताउनुभयो ।
स्वास्थ्य सेवामा अब्बल बन्दै गए पनि कर्णाली प्रतिष्ठानले सुशासन, पारदर्शिता तथा प्रभावकारी समन्वयमा जोड दिनुपर्ने सुझाव दिनुभयो । पाठ्यक्रम निर्माण कार्यशालामा करिब एक दर्जन बढी विज्ञ सहप्राध्यापक तथा प्राध्यापकहरूको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्