तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले हिमाको खलढुंगामा १२ घर भत्किए,११७ जना विस्थापित

जुम्ला । अविरल वर्षाका कारण पहिरो आउँदा जुम्लाको हिमा गाउँपालिका – ६ पातरखोलाको खलढुंगा र दलित बस्तीका १२ वटा घर भत्किएका छन् । पहिरोले ४ घरमा आंशिक क्षति पुर्‍याएको छ । पहिरोका कारण १६ घरधुरीका १ सय १७ जना विस्थापित भएका छन् ।

गाउँबस्तीको चारैतिर पहिरो गएर घरका विभिन्न भाग भत्किन थालेपछि स्थानीयको बिचल्ली भएको छ । गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि विस्थापित घरपरिवार आफन्तको शरणमा पुगेका छन् ।

खलढुंगाका सुर्य अधिकारी, रत्नराज अधिकारी,भक्त अधिकारी,सिंह अधिकारी,मुनराज अधिकारी,पुन्न अधिकारी र दलित बस्तीका रति दमाई र गज दमाई लगायत १२ जनाको घर भत्किएको हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले बताउनुभयो । पातरखोला क्षेत्रका करिब ८० घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिम छ । स्थानीय सूर्यबहादुर अधिकारीले भन्नुभयो, “पातरखोलाको खलढुँगा गाउँमा घर पहिरोले भत्काउन थालेपछि स्थानीय त्रसित छन् । गाउँ छोडेर सुरक्षित ठाउँमा जान थालेका छन् ।”
प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार हिमा गाउँपालिकामा वर्षाले गर्दा सबै गरी १६ वटा घरमा पहिरोले क्षति गरेको छ । जसबाट १ सय १७ घरपरिवार विस्थापित भएको प्रहरी निरीक्षक चौधरीको भनाई छ ।

उहाँले भन्नुभयो,“पहिरो घरै बगाएको छैन । तर कसैका पर्खाल भत्किएका छन् । कसैका झ्याल ढोका भत्किएका छन् । कसैका घरभित्रै पानी पसेको छ । जोखिम बढेपछि स्थानीय विस्थापित भएका हुन् ।” विस्थापित १६ घरका १ सय १७ जना अहिले सुरक्षित नै रहेको प्रहरीले जनाएको छ ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले एक बर्ष अघि नै पातरखोलाका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न निर्णय भएपनि संघीय सरकार चासो नदिएको बताउनुभयो । बस्ती स्थानान्तरण गर्नका लागि सघन शहरी विकास तथा भवन डिभिजन कार्यालय जुम्लालाई परिपत्र गरिएको र बजेट नजुटेपछि स्थानान्तरण समस्या भएको छ ।

यता, सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका शव इन्जिनियर चन्द्र खड्काले उक्त जोखिम बस्ती स्थानान्तरण लागि करिब १२ करोड लाग्ने अनुमान सहित केन्द्रमा कार्यक्रम पठाएको बताउनुभयो । तर चालु वर्षमा पनि स्वीकृत भएन । आगामी आर्थिक वर्षमा पनि त्यो कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सबै क्षेत्र तथा निकायबाट पहल गर्नुपर्ने उहाँको जोड छ ।

वर्षाले भेडी गोठालाको बिचल्ली


गर्मी छल्न पाटन उक्लेका भेडी गोठालाहरु निरन्तरको वर्षाले विचल्लीमा परेका छन् । भेडाको बथानसँगै पाटन र खर्कमा बसेका भेडी गोठाला बिचल्लीमा परेका हुन् । भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको गोठमा बसिरहेका भेडी गोठालालाई एकातिर चट्याङको खतरा छ भने अर्कोतिर भेडा बाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ । ‘पाटनमा भरपर्दो गोठ नै छैनन्, आफैले बनाएका गोठ हावाहुरीले उडाउने खतरा हुन्छ ।

तातोपानी गाउँपालिका – ७ सर्मीका भेडी गोठाला कृष्ण खड्काले भन्नुभयो“गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङले मृत्यु भयो । अहिले पनि त्यस्तै नहोला भन्न सकिने अवस्था छैन । २०७२ सालमा पनि करिब १० दिनसम्म निरन्तर वर्षा हुँदा सयौँ भेडा मरेका थिए ।”

पाटन क्षेत्रमा चार महिना बसाइपछि गोठालाहरू घर फर्किन्छन् । जिल्लाका पाँच सय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा अस्थायी भेडी गोठ छन् । जुम्लामा करिब ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताउनुभयो ।

‘आम्दानी राम्रो छ, भेडाको सङ्ख्या बढिरहेको छ’ उहाँले भन्नुभयो,‘कर्णाली प्रदेशले यो वर्षबाट गोठालो भत्ता दिने भएको छ । ५० भन्दा बढी भेडाबाख्रा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठाला हर्षित छन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button