लोडसेडिङ नगरिएको विद्युत् प्राधिकरणद्वारा स्पष्ट

काठमाडौँ । केही दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरूमा बत्ती झ्याप्प झ्याप्प गइरहेको वा अघोषित लोडसेडिङ सुरु भएको, विद्युत् आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारले नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको र फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत् माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि नगरिने विज्ञप्तिमा जनाइएको छ ।
विद्युत्का पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत सम्भार तथा बदली गर्ने जस्ता प्राविधिक कारणले मात्र केही समय विद्युत् काटेर तत्कालै मर्मत सम्भार गरी विद्युत् आपूर्ति सुचारु गर्ने गरिएको समेत प्राधिकरणले जनाएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको महामारीको समयमा समेत प्राधिकरणका कर्मचारीहरू अहोरात्र खटिई सेवा दिई रहेको हुँदा कुनै पनि प्रकारको लोडसेडिङ नहुने र त्यस्तो भ्रममा समेत नपर्न सबैलाई अनुरोध समेत गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञप्ति









प्रतिक्रिया राख्नुहोस्