पर्यटन प्रवर्द्धन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालको कला संस्कृति तथा प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
हुलाक विभागले सन् २०२० मा प्रकाशन गरेका हुलाक टिकटहरूमा आज काठमाडौँमा टाँचा लगाउनुहुँदै मन्त्री गुरुङले नेपालको प्राकृतिक सम्पदा र संस्कृतिको प्रचार–प्रसारका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले स्थानीय पर्यटकीय गन्तव्य, धार्मिक क्षेत्र तथा सांस्कृतिक विविधतालाई प्रचार–प्रसार गरी पर्यटनको विश्व बजारसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरू प्रति राज्यका तर्फबाट सम्मान प्रकट गर्ने तथा नेपाली कला, संस्कृति र पर्यटकीय गन्तव्यहरूको बजारीकरण गर्न हुलाक टिकटले महत्त्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो ।

हुलाक सेवा विभागले आजदेखि लुम्बिनी शान्ति दौड, एभरेस्ट स्काई ड्राइभ, नेपाल राष्ट्र बैङ्कद्वारा जारी रु एक दरको प्रथम कागजी नोट, सुनसरीको रामधुनी मन्दिरलगायत विभिन्न धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा अङ्कित १५ वटा नयाँ हुलाक टिकटहरू प्रचलनमा ल्याएको छ ।
नेपालमा हुलाक टिकटको प्रकाशन विक्रम संवत् १९३८ सालदेखि सुरु भएको थियो भने हालसम्म १ हजार ३ सय ६७ प्रकारका टिकटहरू प्रकाशन भइसकेको हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्