तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम । जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा आजदेखि विद्यालय स्तरीय रनिङ्गशिल्ड क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

कूल ८ वटा विद्यालयको सहभागिता रहेको सो प्रतियोगिता नक आउटको आधारमा खेलाइने भएको छ ।

जिल्ला क्रिकेट सङ्घको सहकार्य तथा एन प्याब्सनको आयोजनामा सुरु भएको सो प्रतियोगितामा जनकपुरधामका ८ संस्थागत विद्यालयहरूको सहभागिता रहेको छ । प्रतियोगिता पुस २० गतेसम्म चल्ने भएको छ ।

एक वटा टिमले कम्तीमा ३ वटा म्याच खेल्न पाउने सो विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता जनकपुरधाममा २१ वर्षपछि हुन लागेकोमा विद्यार्थी तथा विद्यालयका सञ्चालक एवं अभिभावकहरूमा निक्कै उत्साह रहेको छ ।

कूल २० ओभरको प्रतियोगिताका लागि विद्यालय तहबाट नै स्तरीय खेलाडीको छनौट गर्ने, विद्यालयमा अनुशासित वातावरणको निर्माण गर्ने, विद्यार्थीलाई मोबाइलको लत छोडाउने तथा लागु पदार्थको दुर्व्यसनी हुनबाट जोगाउनका लागि प्रतियोगिताको आयोजना गरेको प्रतियोगिताका संयोजक आशिष झाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै एन प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुर्‍याउने भएकाले खेलकुदलाई विद्यालयको अनिवार्य क्रियाकलाप बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल क्रिकेट सङ्घ प्रदेश नंं २ का अध्यक्ष हिरा भगतले विद्यालय स्तरीय प्रतियोगितापछि अर्को वर्षदेखि क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता गराउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झा, एन प्याब्सनका महासचिव शुभाष न्यौपाने, क्रिकेट सङ्घका धनुषा सहसचिव सरोज मिश्रसहितका वक्ताहरूले क्रिकेट खेलको वातावरण बनाउनका लागि विद्यालय स्तरीय प्रतियोगिता महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button