सुनसरीको गढी गाउँपालिकाको आफ्नै भवन बन्दै

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा जनताका आधारभूत सेवा प्रवाह हुने सुविधा सम्पन्न आफ्नै भवन बन्ने भएको छ ।
साविकको औरावनी गाविस भवनमा पालिकाको कार्यालय सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन बन्ने भएको हो ।
बहुवर्षीय योजना अन्तरगत आर्थिक वर्ष २०७६/०७७ मा पालिकाको सुविधा सम्पन्न कार्यालय भवन निर्माणका लागि ६ करोड रुपियाँमा ठेक्का लगाएको र लागत अनुसारको काम धमाधम भइरहेको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको तुलसी भक्त विल्डसले समय भित्रै सम्पन्न गर्ने जनाएको छ ।
गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले तीन तल्ले भवनमा निर्माण ठेक्का पाएका ठेक्केदारले पहिलो तल्लासम्मको काम सम्पन्न गरेको खण्डमा कार्यालयको काम आफ्नै भवनमा सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।
यादवले रयाफ्ट फाउण्डेसनको बेसमेण्ट ढलानको काम भएकाले निर्माणको कामले गति लिने र बैशााखसम्म एक तल्लासम्मको काम सक्ने दावी गर्नुभयो ।उहाँले आफ्नै कार्यकालमा कार्यालयको भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाका चार स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्ष पूरा भइसकेको अवस्थामा पनि कार्यपालिका भवन अभावमै सेवा प्रवाह गरिरहेका छन ।
गढी गाउँपालिकाको भवन निर्माण कार्यले गति लिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरीले बताउनुभयो । भवन अभावलाई मध्येनजर गरी भवन निर्माणको ठेक्का लगाएको लेखा अधिकृत दिलबहादुर खड्काले जनाकारी दिनुभयो ।

उता भवन अभावलाई मध्येनजर गरी गढी गाउँपलिका सहित देवानगञ्ज गाउँपालिका र बर्जु गाउँपालिकाले समेत भवन निर्माणको काम सुरु गरेका छन् । कोशी र भोक्राहा नरसिंह गाउँपालिका भने भाडाको भवनमा स्थानीय तहको सेवा दिइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्