लैङ्गिक हिंसा विरुद्धको अभियान घरबाटै सुरुवात गर्नुपर्नेः उपाध्यक्ष शशिकला दाहाल

बर्दिवास । लैङ्गिक हिंसा विरुद्धको निरन्तर अभियानमा लाग्न आफैले घरमा दिइने संस्कारबाट सुरुवात गर्नु पर्नेमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले जोड दिनुभएको छ ।
महोत्तरीको बर्दिवासमा बर्दिबास नगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको निरन्तर अभियान अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दाहालले छोरीलाइ यसो नगर, उसो नगर भन्ने आमाबुवाले छोरा कहाँ जादैछ, के गर्दैछ र के सिक्दैछ भन्ने कुरामा पनि ध्यान दिनु पर्ने धारणा राख्नु भयो ।
उपाध्यक्ष दाहालले महिला हिंसा न्यूनीकरणका लागि रेडियो तथा संचारमाध्यमले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै विभिन्न नाटक तथा अन्तरवार्ता जस्ता कार्यक्रमहरु संचालन गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य शारदा देवी थापाले अव हक अधिकारका लागि महिला स्वयम सचेत भई आफ्नो हक र अधिकारका लागि संघर्ष गर्न जरुरी रहेको औल्याउनु भयो ।
थापाले महिला हिंसा मात्र नभई कुनै पनि हिंसाको शिकार हुन नदिन हरेक व्यक्तीले आफुले आफ्नो तवरबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।
त्यसैगरी नेकपाका नेता खिमलाल देवकोटाले अन्तरक्रियायामा सहभागीहरुले सोधेका सवालहरुको जवाफ दिदै सहजीकरण गर्नुभयो ।
कार्यक्रममा प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले प्रदेश २ मा महिला हिंसाका घटना अत्याधिक रहेको बताउनुभयो । उहाँले प्रदेश २ मा महिला प्रहरीको संख्या अत्यन्तै न्यून रहेको समेत बताउनु भयो ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कुमार कार्कीले नगरमा महिला हिंसा, बालविवाह र बाल श्रमका विरुद्धमा विभिन्न योजनाबद्ध कार्यक्रमहरु ल्याइने खुलासा गर्नुभयो ।
नगर प्रमुख कार्कीले बर्दिबास नगरपालिकाका भूमीहिन सुकुम्बासी, अव्यस्थित बसोबास गरी बसेकाहरुलाई जग्गाधनी प्रमाण पत्र पुर्जा वितरणको कार्य आगामी असार सम्ममा वितरण गरिने समेत बताउनुभो ।







प्रतिक्रिया राख्नुहोस्