अछामका ३ स्थानीय तह पूर्ण बन्द
अछाम । कोरोना भाईरसको संक्रमण तथा जोखिम बढ्दै गएपछि अछामका तीनवटा स्थानीय तह पूर्ण रुपमा बन्द गरिएका छन् ।
पछिल्लो समयमा जिल्लामा लक्षण सहितका कोरोना संक्रमित देखिन थालेपछि जिल्लाका मंगलसैन नगरपालिका, कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका पूर्ण रुपमा बन्द गरिएका छन् । मंगलसैन नगरपालिका एक हप्ता, कमलबजार नगरपालिका २ हप्ता र बान्नीगढी जयगढ गाउँपालिका एक हप्ताका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।
आफ्नो नगरपालिकामा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिकालाई २ हप्तसम्म सिल गरिएको कमलबजार नगरपालिकाका उपप्रमुख भूमिशरण ढकाल बजगाईँले जानकारी दिनुभयो । पछिल्लो ४ दिनमा मात्रै अछाममा १ सय २९ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितको संख्या ९ सय पुगेको बेला सक्रिय संक्रमित ५ जना मात्रै रहेको अछाममा हाल कोरोना संक्रिमतको संख्या १३ सय ५१ पुगेको छ भने सक्रिय संक्रमित १ सय ९३ पुगेको छ ।
सोमबार मात्रै अछाम जिल्लामा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना महिला र १६ जना पुरुष गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले बताउनु भयो ।
आज संक्रमण देखिनेमा मंगलसेन नगरपालिकाका ५ महिला र १३ पुरुष गरी १८ जना, कमलबजार नगरपालिकाका २ जना पुरुष, बान्नीगढी जयगढ गाँउपालिकाका १ महिला र तुर्माखाँद गाँउपालिका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी बिष्टले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्