तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसासम्बन्धी अन्तरक्रिया सम्पन्न

सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा आज कार्यपालिका सदस्यहरुसँग लैङ्गिक हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत मूल समारोह समितिको आयोजना र प्रादेशिक कानुनी सहायता समितिको संयोजनमा ‘लैङ्गिक हिंसा सम्बन्धी कानुन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ‘विवाह, वैवाहिक बलात्कार, बहुविवाहको कानून’ बारे अधिवक्ता मनु खनाल र ‘घरेलु हिंसाबारे अधिवक्ता किरण साहले अन्तरक्रियात्मक छलफल गर्नुभयो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले नीति निर्माताले लैङ्गिकमैत्री कानुन बनाउने, कार्यान्वयन गर्नेले कानुन कार्यान्वयन गर्ने र हरेक नागरिकले हिंसा विरुद्ध खबरदारी गर्नुपर्ने बताउनु भयो । पोखरेलले लैङ्गिक हिंसाले महिला, पुरुष, तेस्रो लिंगी सबैलाई प्रभाव पारेकोले समस्या बुझ्न र आफ्नो भूमिका खोज्न सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा, सूचना अधिकारी मनोजकुमार यादव, राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, उपाध्यक्ष मीना साह, समग्र जनउत्थान केन्द्रका कृष्णकुमार साह, मैथिली महिला परिषद्की प्रतिमा देवलगायत वडा अध्यक्षहरुले आ–आफ्नो विचार राख्नु भयो ।

मूल समारोह समितिका अध्यक्ष मनोहर पोखरेलको अध्यक्षता एवम् नगर प्रमुख शम्भुप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर १ देखि १६ सम्मका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button