भारतीय विदेश सचिवको भ्रमणले नेपाल र भारतबीच औपचारिक संवादको ढोका खुलेको छ : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिव र चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणले कोभिड सुरु भएपछि छिमेकी मुलुकहरूसँग रोकिएका संस्थागत भ्रमणको सुरुवात गरेको बताउनु भएको छ ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले दुवै देशका प्रतिनिधिहरूबाट भएको भ्रमणले दुवै देशसँगको सम्बन्ध सुदृढ र बलियो बनाउन थप मद्दत पुग्ने बताउनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले भारतका विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले नेपालले महाकाली नदी पूर्वका भाग समेटेर नेपालको प्रशासनिक नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुलाउन महत्त्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।

उहाँले सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको र दुवै देश संवादबाटै समाधान खोज्न तयार भएको भन्नुहुँदै समस्याहरू समाधान गर्दै सम्बन्धलाई बलियो बनाउने बाटोमा अगाडि बढेको बताउनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल भारत सम्बन्धमा पछिल्लो केही समय चिसोपना आएको भए पनि कोरोना महामारीका समयमा सहयोग आदानप्रदान, सहयोग आयोजना कार्यान्वयन, आयात निर्यात जस्ता विषयमा सरकारले कुनै प्रभाव पर्न नदिएको समेत स्पष्ट पार्नुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले चिनियाँ रक्षा मन्त्रीको भ्रमण नियमित भएको बताउँदै भ्रमणका क्रममा नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई घनिष्ठ बनाउने तथा दुई देशका सेनाबीचको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्त गोयल रअ प्रमुखको रुपमा नभई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आउनु भएको स्पष्ट पार्दै त्यसको रिजल्ट आइसकेको बताउनुभयो ।
बैठकमा सांसदहरुले भारतीय गुप्तचर संस्था रअका प्रमुखको नेपाल भ्रमण पारदर्शी हुन नसकेको, सरकारले स्पष्ट परराष्ट्र नीति सार्वजनिक नगरेको, भारत र चिनियाँ पक्षबाट भएको भ्रमणमा नेपालको तर्फबाट स्पष्ट एजेण्डा राख्न नसकिएको विषयमा प्रश्न गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्