तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ठ करदाताहरुलाई परिसंघको सम्मान

काठमाडौँ । नेपाल सरकार, आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदाताहरू मध्ये नेपाल उद्योग परिसंघमा आबद्ध करदाताहरुलाई परिसंघले सम्मान गरेको छ । सम्मानित करदाताहरु मध्ये सात करदाता नेपाल उद्योग परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरुको रुपमा आबद्ध रहेका छन् ।

सम्मानित करदाताहरु नेपाल उद्योग परिसंघमा आबद्ध रहेकाले परिसंघले पनि गौरव महशुस गर्दै सम्मान पत्र सहित सम्मान गरेको हो । परिसंघले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाह, बैंक तथा वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्रीज प्रा.लि.का निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आई.एम.ई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई सम्मान पत्र प्रदान गरेको छ ।

सम्मानीत हुने थप संस्थाहरुमा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सूर्य नेपाल प्रा.लि र निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिर्नेे डाबर नेपाल प्रा.लि.लाई पनि सम्मान पत्र प्रदान गरिएको छ । सम्मानीत संस्था तथा व्यक्तिहरु परिसंघको गभर्निङ काउन्सिल, नेशनल काउन्सिल र सदस्यको रुपमा आबद्ध रहेका छन् ।

सम्मान तथा बधाई पत्र हस्तान्तरण गर्दै अध्यक्ष सतिशकुमार मोरले देशको अर्थतन्त्रमा परिसंघमा आबद्ध सदस्यहरुले उल्लेख्य योगदान गरेर सम्मानित हुनु परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरवपूर्ण क्षणको रुपमा रहेको बताउनु भयो । निजी क्षेत्रले बुझाएको कर तथा राजस्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्न पाउनु पर्ने निजी क्षेत्रको अपेक्षा रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो ।

यस अघि नवौं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सरकारले गत आइतबार सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button