रुपन्देहीमा १५ शय्याको सरकारी अस्पतालको शिलान्यास

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा निर्माण हुने १५ शय्याको सरकारी अस्पतालको बिहीबार शिलान्यास गरिएको छ ।
हरेक पालिकामा कम्तीमा एउटा १५ शय्याको सरकारी अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार बन्न थालेको आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नुभयो ।
२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउन थालिएको हो । अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ ।
शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट पार्नुभयो । “बजेटको सुनिश्चितता म गराउँछु । तपाईँहरूले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् ।” अर्थमन्त्री पौडेलले भन्नुभयो ।
उहाँले तिलोत्तमाकै सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नति गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । तिलोत्तमाको वडा नं. १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकै गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन तिलोत्तमामा गरी बसपार्क, सडक, पुल, सिँचाई नहरलगायत थुप्रै विकास योजना अघि बढाइने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले रुपन्देहीले विकासमा ठुलो फड्को मारेको बताउँदै तिनै तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाउनु भएको प्रतिबद्धताअनुसार अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुसी व्यक्त गर्दै सेमराबजार स्वास्थ्य चौकीको स्तरोन्नति पनि अनिवार्य रहेकोमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्