तपाईँ सुन्दै हुनुहुन्छः

विकासका आयोजना अधुरा रहन नदिइनेः अर्थमन्त्री पौडेल

file photo

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सरकारले एकपछि अर्को राष्ट्र र जनपक्षीय निर्णय गर्दै नतिजा र परिणाममुखी काम गरेर देखाउने बताउनुभयो ।

गृहजिल्ला रुपन्देहीमा आज तिनाउ दानव कोरिडोरको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले कुनैपनि विकासका आयोजना अधुरा रहन नदिने र आर्थिक, पर्यटन, सांस्कृतिक र वाणिज्यको केन्द्र बनाउने गरि योजना अगाडि बढाइने बताउनुभएको होे ।

निर्वाचनको बेला पार्टीले जनतासंग गरिएका प्रतिबद्धता र घोषणापत्र एकएक गरि कार्यान्वयन गर्दै अघि बढ्ने आफ्नो प्रतिवद्धता रहेको मन्त्री पौडेलले बताउनुभयो ।

बुटवल बजारको बिच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारै किनार बन्ने करिडोरको निर्माणपछि भारतिय सिमासंग जोडिएको रुपन्देहीको मर्चवारलाई बुटवलसंग जोडिन सहज हुने विश्वास गरिएको छ ।

तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरि दुवैतर्फ २ लेनको सडक निर्माण हुने छ । त्यसको लागि पहिलो चरणमा तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ ।

जसअनुसार तिनाउ कोरिडोरमा ५२ करोड ४६ लाख र दानव कोरिडोरमा १९ करोड ४२ लाख रुपैयामा किरांतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियां जेवीसंग गत असोजमा ठेक्का सम्झौता भएको हो ।

किरांतेश्वर मैनाचुली अविसा जेवीले तिनाउतर्फको र लामा बानियां जेवीले दानवतर्फको सडक निर्माण गर्ने छन् । ठेक्का सम्झौता अनुसार तिनाउ तर्फको ३६ महिना र दानव तर्फको २७ महिनामा सडक निर्माण सक्नुपर्ने छ ।

पहिलो चरणमा तिनाउतर्फको बुटवल नयां बसपार्क पछाडिदेखि तिलोत्तमाको मगरघाट सम्म र दानवतर्फ बेलवास झोलुंगे पुलदेखि नयांगाउं पुलसम्म कोरिडोर निर्माण हुने सडक विभागले जनाएको छ ।

दुवैतर्फ गरि ५० किलोमिटर सडक निर्माणका लागि ४ अर्ब १३ करोड रुपैया लाग्ने विभागले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुंदै आएको तिनाउ नदिको उकास क्षेत्र जोगिने र नदिको बहाव क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ ।

नदितर्फको ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइने छ भने त्यसपछि मात्र १४ मिटरको दुईलेन सडक सडक हुने छ । त्यस्तै बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिने छ ।

हाल नदिको किनार सम्मै घरटहरा बनाई बस्ती बसेकोले सडक निर्माणको क्रममा घरटहरा हटाउनुपर्ने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । कोरिडोरका लागि ७ सय ५ वटा घरटहरा हटाउनुपर्ने र त्यसको लागि बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरपालिकाले लिखित प्रतिवद्धता समेत गरिसकेको कार्यालयले जनाएको छ ।

तिनाउको संरक्षण तथा पर्यापर्यटनको विकासका लागि भन्दै थालिएको कोरिडोरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी, सैनामैना तथा बेथरी हुँदै भारतसम्म जोड्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button