वीरगञ्जबाट लक्ष्यभन्दा ३२ प्रतिशत बढी राजश्व असुली
वीरगञ्ज । मुलुकको प्रमुख नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्र्तिक महिनामा भन्सार विभागले तोकेको लक्ष्यभन्दा पनि ३२ प्रतिशत बढी राजश्व असुली गरेको छ ।
कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि आयात निर्यात कारोबारमा बृद्धी भएसँगै राजश्व असुली बढेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताउनुभयो ।
भन्सार विभागले वीरगञ्ज भन्सारलाई कात्तिक महीनाका लागि साँढे १० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा भन्सारले १३ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको भन्सार अधिकृत सुकमनीले जानकारी दिनुभयो ।
दशै तिहार छठ जस्ता पर्वको कारण दैनिक उपभोग्य सामानको आयातमा वृद्धि, पेट्रोलियम पदार्थ र विभिन्न सवारी साधनको आयात बढेकाले राजश्व असुली लक्ष्यभन्दा बढी भएको सुकमनीले बताउनुभयो ।
चैत महिनादेखि घोषित लकडाउन र निषेधाज्ञामा वीरगञ्ज भन्सारबाट दिनमा १५० गाडी मालसामान नेपाल भित्रिने गरेकोमा अहिले यो संख्या बढेर करीब ७०० पुगिसकेको छ । आयातित मालसामानको परिमाण हेर्दा वीरगञ्जबाट हुने आयात निर्यात सामान्य अवस्थामा फर्किसकेको भन्सारका अधिकारीहरूले बताएका छन् ।
सुक्खा बन्दरगाह भन्सारबाट समेत अहिले दैनिक ३०० सयको हाराहारीमा कन्टेनर वीरगञ्जबाट बाहिरिने गरेका छन् । बोराबन्द र फलामको कार्गो पनि बढिरहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत जगदीश पुर्वेले जानकारी दिनुभयो ।
वीरगञ्ज भन्सार कार्यालयले बन्दाबन्दी र लकडाउनका बावजुद पनि चालु आर्थिक वर्षको ४ महीनामा ४३ अर्ब ६७ करोड रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्