चुरे भावरसंग जोडिएका वडाका लागि खानेपानी ओभरहेड ट्यांकी निर्माण गरिने
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा भावर क्षेत्र खानेपानी सुधार कार्यक्रम अन्तर्गत चुरे भावरसंग जोडिएका वडाहरुका लागि खानेपानी ओभरहेड ट्यांकी निर्माण गरिने भएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलाली मातहत रहेर वेदकोट नगरपालिका वडा नम्बर ३ को भम्कामा दैजी खानेपानी आयोजना, वडा नम्बर ४ को विजयनगर बगुनमा शिवलिङ्ग खानेपानी आयोजना र वडा नम्बर ५ को धरमपुरमा धरमपुर खानेपानी आयोजना निर्माण गरिने वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनुभयो ।
मुल्य अभिवृद्धि करसहित कुल १२ करोड २० लाख ६१ हजार ८ सय ३८ रूपैयाँ ८८ पैसा लागतमा निर्माण गरिने खानेपानी आयोजनाहरूको बुधबार शिलान्यास गरिएको नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री पठान सिंह बोहरा र सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का सहितको उपस्थितिमा एक औपचारिक कार्यक्रमका बीच खानेपानी आयोजनाको शिलान्यास गरिएको नगर प्रमुख चन्दले बताउनु भएको छ ।
उहाँका अनुसार, वेदकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ मा खानेपानी ओभरहेड ट्यांकी निर्माणका लागि १८ महिना भित्र काम सक्ने गरी २०७७ असार २८ मा भिमेश्वर, धुलिखेल, एल्.बी. एण्ड ए.बी. जेभि निर्माण कम्पनीसंग सम्झौता भएको थियो ।
तीनवटै खानेपानी आयोजना आगामी २०७८ पुस महिना भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । तीनवटै खानेपानी आयोजना सम्पन्न भएपछि तीनै वडाका २ हजार ६ सय १७ घरधुरीले शुद्ध खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्