तपाईँ सुन्दै हुनुहुन्छः

चन्दननाथ पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ मन्दिरमा पुर्‍याइएको छ ।

म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा ख्यातिप्राप्त ओलम्पियनहरूले आज ट्रफी तथा ओलम्पिक टर्च जुम्ला पुर्‍याउनुभएको हो । हिजो दैलेखको पवित्र धार्मिकस्थल शिरस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर शुभारम्भ भएको ‘ट्रफी टुर’ जुम्ला पुगेर प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत फर्किनेछ । जुम्ला बजार परिक्रमापश्चात् ट्रफी र टर्चलाई मन्दिरमा पुर्‍याइएको हो ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार गर्दै खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ‘ओलम्पिक टर्च’ तथा ‘ट्रफी टुर’ सुरु गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहोल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

टुरमा ओलम्पियन दीपक विष्ट, साग (SAG) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा, कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button