पूर्वाधार विकासका लागि इलाममै डिभिजन कार्यालय स्थापना
इलाम । स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालय इलाममा स्थापना भएको छ। इलाम बजारस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयबारे आज औपचारिक जानकारी गराइएको हो।
कार्यालयले इलाम र झापा जिल्लामा पूर्वाधार विकास तथा निर्माणसम्बन्धी काम गर्नेछ। कार्यालयमार्फत पूर्वाधार विकासका योजना तथा आयोजनाको कार्यान्वयन, अनुगमन र समन्वय गरिने जनाइएको छ।
कार्यालय स्थापना भएसँगै यसअघि पूर्वाधारसम्बन्धी कामका लागि इटहरी पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले जिल्लामै कार्यालय स्थापना हुँदा स्थानीय तह तथा जिल्लावासीलाई सेवा लिन सहज हुने बताउनुभयो। यसअघि विभिन्न कामका लागि इटहरी पुग्नुपर्ने झन्झट रहेकामा अब जिल्लाबाटै सेवा लिन सकिने उहाँको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कार्यालय स्थापनाले जिल्लाको पूर्वाधार विकास तथा निर्माणका काममा समन्वय र सहकार्य बढाउने बताउनुभयो। जिल्लामै कार्यालय हुँदा सेवाप्रवाह सहज हुनुका साथै विकास निर्माणका काममा प्रभावकारिता बढ्ने उहाँले उल्लेख गर्नुभयो।
पूर्वाधार विकास डिभिजन प्रमुख पारस पाण्डेले कार्यालय स्थापनासँगै इलाम र झापामा पूर्वाधार विकास तथा निर्माणसम्बन्धी कामलाई थप व्यवस्थित रूपमा अघि बढाइने बताउनुभयो। स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी योजना कार्यान्वयन, अनुगमन र निर्माणसम्बन्धी कामलाई प्रभावकारी बनाइने उहाँको भनाइ छ।
कार्यालय स्थापना कार्यक्रममा डिभिजन प्रमुख पारस पाण्डे, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, कार्यालयका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति थियो।
कार्यालय स्थापनासँगै दुवै जिल्लामा पूर्वाधार विकासका योजना सञ्चालन, निर्माण कार्यको अनुगमन तथा स्थानीय तहसँगको समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्