तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम रोयल्सले जित्यो एनपिएल तेस्रो संस्करणको उपाधि

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जितेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

यससँगै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनल खेलेर पहिलो पटक उपाधि उचालेको छ । उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपियाँ पाएको छ ।

लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले अविजित १२५ रनको शतकीय पारी खेले । उनले ५४ बलमा १२ छक्का र आठ चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनी लायन्सका लागि दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ तथा अलि शेखले २४ रन बना ए । डार्सी शर्टले २१ रन जोडे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button