तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न अन्तिम खेलमा स्याङ्जा माथि पाँच विकेटले जित निकाल्दै कास्की च्याम्पियन बन्न सफल भएको हो । 

गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगितामा कास्कीले चारवटै खेल जित्दै सर्वाधिक आठ अङ्क जोडेर उपाधि चुमेको हो । खेलमा स्याङ्जाले दिएको ८८ रनको लक्ष्य कास्कीले १९ ओभरको दोस्रो बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८७ रन बनाएको थियो । सीमाना केसीले सर्वाधिक १६, अरमिना अधिकारीले १४, श्रेया शाहले ११ र सेरिना थापाले नौ रन बनाए । कास्कीकी सीमाना रेग्मी र रिया तामाङले समान दुई/दुई विकेट लिए । 

जितका लागि ८८ रनको  लक्ष्य पछ्याएको कास्कीका लागि रेखा तामाङले अविजित २५ रन बनाउँदै जितको आधार तयार गरिन् । ३२ बलको सामना गरेकी उनले दुई चौका प्रहार गरिन् । चन्द्रमाया बरालले २३, विनीता सिग्देलले १० र सृजना पौडेलले सात रन जोडिन् ।

स्याङ्जाका भावना भट्टराई, अपेक्षा बुढाथोकी, सलिना सेन र रञ्जना साउदले समान एक विकेट लिए । ब्याटिङ र बलिङ दुवैतर्फ योगदान पुर्‍याएकी कास्कीकी रेखा तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ स्याङ्जाकी सीमाना केसी ‘प्लेयर अफ द सिरिज’ घोषित भइन् । कास्कीकी चन्द्रमाया बरालले उत्कृष्ट ‘ब्याटर’ र स्याङ्जाकी अपेक्षा बुढाथोकीले उत्कृष्ट ‘बलर’को उपाधि प्राप्त गरिन् ।

प्रतियोगितामा गण्डकीका पाँच जिल्लाको सहभागिता रहेको थियो । कास्कीले चार खेलबाट आठ अङ्क जोड्दा स्याङ्जा तीन जित र एक हारसहित छ अङ्कसहित उपविजेता बन्यो । नवलपुरले दुई तथा पर्वतले एक खेलमा जित निकाले । बागलुङ भने प्रतियोगिताका सबै खेलमा पराजित भयो ।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।  गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने बताउनुभयो । 

त्यसैगरी मङ्सिर तेस्रो सातादेखि पोखरामा आयोजना हुने ‘पीएम कप’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पनि यसै छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा प्रदेश टोली निर्माण गरिनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button