एनपीएलः ‘एलिमिनेटर’मा आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज हुने ‘एलिमिनेटर’ खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ः०० बजे सुरु हुने खेलको विजेता टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ । उक्त खेलमा विजेताले क्वालिफायर–१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मङ्गलबार भएको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो ।
आजको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । जारी प्रतियोगितामा काठमाडौँले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोरेको थियो ।
चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो ।
पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँ भने चितवनविरुद्धको जितलाई निरन्तरता दिने योजनामा हुनेछ । रासस








प्रतिक्रिया राख्नुहोस्