उत्पादन र रोजगारी बढाएर राजस्व वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री थापा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने बताउनुभएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मङ्गलवार हेटौडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उत्पादन, लगानी र रोजगारी बढाएर करको आधार फराकिलो बनाउनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुहुँदै ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले बढी क्षमता भएकाले बढी कर तिर्नुपर्ने र न्यून आय भएकाहरूमाथि अनावश्यक भार पार्न नहुने धारणा राख्नुभयो । साथै, कर छली गर्ने प्रवृत्तिको अन्त्य गर्दै इमानदार करदातालाई प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री थापाले सरकारको सफलता बजेट खर्चको आकारमा मात्र नभई सार्वजनिक खर्चबाट नागरिकको जीवनमा आएको परिवर्तनबाट मापन हुनुपर्ने धारणा राख्दै बाह्य ऋण र अनुदानमाथिको निर्भरता हटाउन आन्तरिक राजस्व परिचालन बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले कृषि, उद्योग, पर्यटन र सूचना प्रविधिमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा लिँदै कर कार्यालयहरू डर र झन्झटको केन्द्र नभई सेवा र सहजीकरणको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्