तपाईँ सुन्दै हुनुहुन्छः

झापाको ५३ ठाउँमा छठ पूजा हुँदै

भद्रपुर, झापा । झापाको ५३ ठाउँमा सामूहिक छठ पूजा आयोजना गरिएको छ ।

सबैभन्दा धेरै जमघट भद्रपुरको मेची नदीमा हुँदै आएको छ । जनकपुरपछि देशकै ठूलो छठ पूजा मेचीमा हुने गरेको छ ।

त्यस्तै, झापाका बिरिङ, कनकाई, रतुवा, सानोमाई, फूलमती, निन्दा, अन्धुवालगायतका खोला किनारमा छठ पूजा आयोजना गरिएको छ ।

जिल्लाका ५३ ठाउँमा सामूहिक छठ पूजा भइरहेको र त्यसमध्ये २१ ठाउँमा ठूलो छठ पूजा आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट २१ ठाउँको छठ पूजाका लागि अनुमति लिइएको छ ।

छठ पूजामा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 

छठ पूजामा १ हजार ५६ जना नेपाल प्रहरी र ४३८ जना सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

छठ पूजाको भीडभाडमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । समन्वयात्मक ढङ्गबाट दृश्य र अदृश्य (सादा पोशाक) दुवै रूपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

भद्रपुर–५ स्थित छठ घाटमा सशस्त्र प्रहरीले हेल्थ डेस्क सञ्चालन गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विपद उद्धार टोलीसमेत तयारी अवस्थामा रहेका छन् । केही छठ घाटहरूमा तालिम प्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

उहाँले साउन्ड सिस्टमलगायत ध्वनि यन्त्रहरू प्रयोग गर्दा सामाजिक सद्भाव र शिष्टता कायम राख्न तथा ध्वनि प्रदूषण नहुनेतर्फ सचेत बन्न आग्रह गर्नुभएको छ ।

रातभर सञ्चालन हुने पूजा कार्यक्रममा सहभागी व्रतालु तथा सरोकारवाला सबैको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन, लैङ्गिक हिंसाजन्य गतिविधि तथा दुर्व्यवहार, चोरी, गरगहना लुटपाटजस्ता अवाञ्छित हर्कत नियन्त्रण गर्न सुरक्षा निकाय समन्वयात्मक ढङ्गबाट परिचालित भएकाले उमङ्गका साथ पर्वमा सामेल हुन प्रजिअ पोखरेलले आह्वान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button