तपाईँ सुन्दै हुनुहुन्छः

पीएम कप महिला टी–२० छनोट : कास्कीको अपराजित यात्रा कायम 

पोखरा । गण्डकी प्रदेश स्तरीय पीएम कप महिला टी–२० छनोट प्रतियोगितामा कास्कीले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार भएको लिग चरणको खेलमा बागलुङलाई ८९ रनले हराउँदै कास्कीले लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो । 

पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । टोलीका लागि चन्द्रमाया बरालले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । उहाँले चार चौका प्रहार गर्न सफल हुनुभयो । सृजना पौडेलले २५, रेखा तामाङले १३ र बिनिता सिग्देलले ११ रनको योगदान दिनुभयो । बागलुङकी अनुजा सुनारले तीन विकेट लिँदा संरचना घिसिङ तामाङले दुई तथा कुसुम राईले एक विकेट लिनुभएको थियो । 

१ सय ५० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बागलुङले भने कास्कीको कसिलो बलिङसामु खुलेर खेल्न सकेन । निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै बागलुङ ६० रनमै सीमित भयो । अनुजा सुनारले १० रन बनाउनु नै टोलीको व्यक्तिगत उच्च स्कोर रह्यो । सङ्गीता विके पाँच रनमा अविजित रहनुभयो भने कुसुम राईले चार र सिम्रन घर्ती क्षेत्रीले तीन रन बनाउनुभयो । 

कास्कीको जितमा सिमाना रेग्मीले चार विकेट झार्दै बागलुङको ब्याटिङ क्रमलाई धराशायी बनाउनुभयो । सुषिला डिमदुङ तामाङले दुई तथा यशोदा भुजेल र सोनिमा थापा मगरले समान एक विकेट लिनुभयो । प्लेयर अफ द म्याचको पुरस्कार कास्कीकी चन्द्रमाया बरालले प्राप्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button