तपाईँ सुन्दै हुनुहुन्छः

भारी वर्षापछि गाजामा मानवीय सहायता अभाव चुलिँदै, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घ । गाजामा शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण बाढी, आश्रयस्थलमा क्षति तथा अत्यावश्यक सेवामा अवरोध उत्पन्न भएपछि मानवीय संकट थप गहिरिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार सप्ताहन्तमा परेको भारी वर्षाले गाजामा विस्थापित नागरिकहरू बस्दै आएका अस्थायी आश्रयस्थलको कमजोर अवस्था उजागर गरेको छ। वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी आएको, मानवीय सहायता वितरण केन्द्र तथा शैक्षिक स्थानमा क्षति पुगेको र अत्यावश्यक सेवाहरू प्रभावित भएका छन्।

ओसीएचएले साझेदार संस्थाहरूबाट प्राप्त विवरण उद्धृत गर्दै बाढीमा परी एक शिशुको डुबेर मृत्यु भएको जनाएको छ। त्यस्तै, बालुवाको पहाड भत्किएर पालमाथि खस्दा तीन बालबालिका र दुई महिलाको मृत्यु भएको बताइएको छ। वर्षाका कारण हजारौँ परिवारले आफ्ना अस्थायी आश्रय स्थल तथा व्यक्तिगत सामान गुमाएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार मानवीय सहायता निकायहरूले प्रभावित नागरिकको आवश्यकता पहिचान गर्न, आपत्कालीन सामग्री वितरण गर्न तथा राहत उपलब्ध गराउन तत्काल काम सुरु गरेका छन्। तर गाजाभित्र पाल, त्रिपाल, कम्बल र कपडालगायत अत्यावश्यक राहत सामग्रीको मौज्दात लगभग सकिएको ओसीएचएले जनाएको छ।

वर्षापछि विभिन्न स्थानमा जमेको पानी निकाल्ने, पानी निकास प्रणाली सुधार गर्ने, विस्थापित नागरिकका शिविरमा बालुवाका बोरामार्फत सुरक्षा व्यवस्था मजबुत बनाउने तथा क्षतिग्रस्त आश्रय स्थल मर्मत गर्ने काम गरिएको छ। प्रभावित परिवारलाई आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराइएको छ।

यद्यपि, आवश्यक उपकरण र आश्रय सामग्रीको अभावका कारण राहत कार्य प्रभावकारी रूपमा अघि बढाउन कठिनाइ भइरहेको ओसीएचएको भनाइ छ।

गाजामा पर्याप्त मानवीय सहायता पु¥याउन आवश्यक आर्थिक स्रोत जुटाउनुका साथै इजरायलबाट सामग्री तथा उपकरण भित्र्याउने अनुमति प्रक्रिया सहज बनाउनुपर्ने राष्ट्रसंघले जनाएको छ। पानी तान्ने ठूला सवारीसाधन, मोबाइल पम्प, इन्जिन आयल, पाइप तथा भारी उपकरण तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ।

मानवीय सहायता साझेदार संस्था तथा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले खरिद गरेका एक लाख ५० हजारभन्दा बढी पाल गाजाबाहिर पठाउनका लागि तयार अवस्थामा रहेको पनि ओसीएचएले जानकारी दिएको छ।

अधिकृत प्यालेस्टिनी भूभागका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक रामिज अलाक्बारोभले सोमबार रामल्लाहमा प्राकृतिक वर्षा सामान्य घटना भए पनि मानिसहरू त्यसबाट प्रभावित हुने अवस्था मानव सिर्जित रहेको बताउनुभएको छ।

उहाँका अनुसार निरन्तरको द्वन्द्वले आवास तथा अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ। साथै, इजरायलले लगाएका कडा प्रतिबन्धका कारण बाढीको जोखिम रहेका तटीय क्षेत्रबाट अन्य सुरक्षित स्थानमा जाने तयारी तथा पहुँचमा समेत कठिनाइ भएको छ।

हाल गाजाका अधिकांश नागरिक जीर्ण र कमजोर पालमा बस्न बाध्य रहेको उल्लेख गर्दै उहाँले ती आश्रय स्थल सामान्य वर्षा र हुरीसमेत सहन नसक्ने अवस्थामा रहेको बताउनुभएको छ। मानवीय सहायता संस्थाहरूलाई आवश्यक सामग्री भित्र्याउन अवरोध हुने अनावश्यक प्रतिबन्ध तथा ढिलाइ तत्काल हटाउन पनि उहाँले आग्रह गर्नुभएको छ।

यसैबीच, गाजाका विभिन्न घना बस्ती भएका क्षेत्रमा हवाई आक्रमण जारी रहेको र त्यसबाट थप मानवीय क्षति भएको विवरण सहायता साझेदार संस्थाहरूले दिएको ओसीएचएले जनाएको छ।

कार्यालयका अनुसार शनिबार गाजा सहरको तथाकथित ‘येलो लाइन’ को पश्चिमतर्फ रहेको विस्थापित नागरिकको शिविरमा पुगेका संयुक्त राष्ट्रसंघका कर्मचारीहरू नजिकै गोली चलेपछि सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका थिए।

यस्ता घटनाले मानवीय सहायता टोलीको सुरक्षामा समेत जोखिम बढाएको राष्ट्रसंघले जनाएको छ। ओसीएचएले अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षहरूलाई पुनः आग्रह गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button