पोखरामा सांस्कृतिक झाँकीसहित मनाइयो नेपाल संवत्

पोखरा । नेपाली मौलिक संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ को अवसरमा पोखरामा भिन्तुना र्याली निकालिएको छ ।
नेवारी कला, संस्कृति, भेषभूषा र परम्पराको झल्को दिने विभिन्न सांस्कृतिक झाँकीसहित निकालिएको र्यालीमा नेवारी समुदायका विभिन्न सङ्घसंस्था तथा सबै उमेर समूहका व्यक्तिहरू उत्साहपूर्वक सहभागी हुनु भएको छ ।

नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै आयोजना गरिएको र्यालीमा सहभागीहरू परम्परागत नेवारी पोशाकमा सजिएर विभिन्न सांस्कृतिक प्रस्तुति र झाँकीसहित नगर परिक्रमा गरेका थिए । पोखरा नयाँबजारस्थित प्रदेश सङ्ग्रहालयको प्रवेशद्वारबाट सुरु भएको र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा र सिद्धार्थचोक हुँदै नेवा छेँ भवनमा पुगेर समापन समारोहमा परिणत भएको थियो । र्यालीका क्रममा नेवारी समुदायको मौलिक पहिचान झल्कने कला, संस्कृति, भेषभूषा र परम्पराको प्रदर्शन गरिएको थियो । र्यालीमा नेवारी सहित अन्य समुदायका व्यक्तिहरूको समेत र्यालीमा सहभागिता रहेको नेवा खल कास्कीका अध्यक्ष असोक पालिखेले बताउनुभयो । पोखरामा विगत लामो समय देखि नेपाल संवत् मनाइँदै आएको उल्लेख गर्दै उहाँले यस संवत्लाई सबैले अपनत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको औपचारिक उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको थियो । र्यालीमा सहभागी हुँदै उपप्रमुख गुरुङले नेपाल संवत् नेवारी समुदायको मात्र नभई समग्र नेपालीको साझा सम्पत्ति र पहिचानका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल संवत्ले नेपालको मौलिक इतिहास, संस्कृति र सभ्यतालाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यसको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा सबै समुदायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख गुरुङले नेपाल संवत् ११४७ तथा तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो । साथै, तिहारका अवसरमा देउसीभैलो खेल्दा तथा पर्व मनाउँदा आवश्यक मापदण्ड र सुरक्षाका उपाय पालना गर्नसमेत उहाँले आग्रह गर्नुभयो । र्यालीमा नेवारी समुदायका विभिन्न सङ्घसंस्था, सामाजिक तथा सांस्कृतिक समूहका प्रतिनिधि, ज्येष्ठ नागरिक, युवा तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो । परम्परागत पोशाकमा सजिएका विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिताले पोखराको सडकमा नेवारी मौलिकता र सांस्कृतिक विविधताको आकर्षक दृश्य प्रस्तुत गरेको थियो ।

नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको नेपालको मौलिक संवत् हो । नेपाल सरकारले विसं २०६५ मा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले नयाँ वर्षको स्वागत गर्नुका साथै म्हः पूजा अर्थात् आत्मपूजा गर्ने परम्परा पनि रहिआएको छ । पोखरामा निकालिएको भिन्तुना र्यालीले नेवारी समुदायको मौलिक कला, संस्कृति र परम्पराको पुस्तान्तरणसँगै विभिन्न जातजाति तथा समुदायबीचको सामाजिक सद्भाव, सहअस्तित्व र सांस्कृतिक एकताको सन्देशसमेत प्रवाह गरेको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । कास्कीमा रहेका नेवाः खलः, कचाः खलः, ल्याम्ह पुचः र मिसा पुचः सहितका अन्य संघ संस्थाको र्यालीमा सहभागिता रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्