किसानलाई धान भण्डारणको चटारो
भोजपुर।धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ । पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ ।
भोजपुर नगरपालिका–५ का स्थानीय किसान रुपनारायण फुयालले धान भित्राउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूति गर्नसमेत कठिन भएको बताउनुभयो । चाडपर्वको समयमा परिवारसँग बसेर रमाइलो गर्नुपर्ने भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
किसान फुयालका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन । किसानले एकअर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याउने काम गरिरहेका छन् । यही गतिमा काम गर्दा मङ्सिर १० देखि १५ गतेसम्म धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
अर्की किसान करुणा थापाले पनि धान भित्र्याउने समयमा कामदार पाउन समस्या भइरहेको बताउनुहुन्छ । गाउँमा खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा धान भण्डारणको काम ढिलो भइरहेको उहाँको भनाइ छ । केही किसानले आफ्नो धान भण्डारण गरिसकेपछि मात्रै अन्य किसानले काम गर्ने अवसर पाउने भएकाले पालो कुरेर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान बताउँछन् । अर्मपर्मका आधारमा काम गर्दा पनि सबै किसानको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ ।
धान पाकेर भित्राउने समय र तिहारको चाडपर्व एकै समयमा परेपछि ग्रामीण क्षेत्रका किसानलाई दोहोरो चटारो परेको किसान अनुराग पोखरेलले बताउनुभयो । एकातिर धानबाली सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने बाध्यता र अर्कातिर चाडपर्व मनाउने चाहना रहेको उहाँको भनाइ छ । खेतीपातीको काम नसकिँदा चाडपर्वको रमाइलोमासमेत पर्याप्त समय दिन नपाएको उहाँले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्