पोखरा एभेन्जर्सको पहिलो जित, ६३ रनले कर्णाली पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभर खेल्दै १५४ रनमा अलआउट भयो।
पोखराका लागि युवराज सम्राले १०२ रनको शतकीय पारी खेले। उनले ४८ बलमा १० चौका र छ छक्का प्रहार गरे। यस्तै, कप्तान कुशल भुर्तेलले ६२ तथा चमिका करुणारत्नेले अविजित ३५ रन बनाए।
एनपीएलको तेस्रो संस्करणमा यो पहिलो शतक हो। सम्राको शतक यस संस्करणको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोरसमेत बनेको छ।
बलिङतर्फ पोखराका मेहदी हसनले तीन विकेट लिए भने धनञ्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले दुई-दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो।








प्रतिक्रिया राख्नुहोस्