कम उत्पादनमै बढी आम्दानी, बाँकेका किसान कालानमक धानखेतीतर्फ आकर्षित
बाँके। परम्परागत तथा हाइब्रिड धानखेतीबाट अपेक्षाकृत कम आम्दानी हुन थालेपछि बाँकेका किसान उच्च मूल्यमा बिक्री हुने कालानमक धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्वादिलो चामल, बजारमा राम्रो मूल्य र घरबाटै बिक्री गर्न सकिने सुविधाका कारण किसानले कालानमक धानखेती विस्तार गर्न थालेका हुन् ।
जानकी गाउँपालिका–५ गुर्वागाउँका रमेशकुमार बर्माले तीन वर्षदेखि कालानमक धानखेती गर्दै आउनुभएको छ । सुरुमा परीक्षणका रूपमा सात कट्ठाबाट खेती थाल्नुभएका उहाँले यस वर्ष क्षेत्रफल विस्तार गरी ६० कट्ठामा कालानमक धान लगाउनुभएको छ ।
उत्पादन अन्य धानको तुलनामा कम भए पनि बजार मूल्य राम्रो पाइने भएकाले कालानमक धानखेतीबाट बढी आम्दानी हुने बर्माको अनुभव छ । उहाँका अनुसार हाइब्रिड धान प्रतिक्विन्टल तीन हजार रुपैयाँमा बिक्री हुने गरेको छ भने कालानमक धान प्रतिक्विन्टल आठदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।
“हाइब्रिड धान एक कट्ठामा करिब दुई क्विन्टल उत्पादन हुन्छ भने कालानमक डेढ क्विन्टलजति मात्रै फल्छ । तर मूल्य धेरै राम्रो पाइने भएकाले आम्दानी बढी हुन्छ”, बर्माले भन्नुभयो ।
उहाँले यस वर्ष ६० कट्ठाबाट करिब ७० क्विन्टल कालानमक धान उत्पादन हुने अनुमान गर्नुभएको छ । यसको बिक्रीका लागि बजार धाउनुपर्ने बाध्यता नरहेको उहाँको भनाइ छ । व्यापारीहरू धान खरिद गर्न किसानकै घरमा आउने भएकाले बिक्री गर्न सहज भएको उहाँले बताउनुभयो ।
कालानमक धानखेतीप्रति आकर्षण बढ्दै जाँदा बाँकेका अन्य किसानले पनि यसको खेती परीक्षण गर्न थालेका छन् । नेपालगन्ज उपमहानगरपालिका–९ समावेशी टोलका कुलाराम चौधरीले यस वर्ष पहिलोपटक कालानमक धान रोप्नुभएको छ । उत्पादन राम्रो देखिएकाले आगामी वर्ष खेती विस्तार गर्ने उहाँको योजना छ ।
जानकी गाउँपालिका–३ इन्द्रपुरका रामनरेश यादवले पनि कालानमक धानखेती गर्नुभएको छ । उहाँका अनुसार अन्य हाइब्रिड धानको तुलनामा कालानमक धान पाक्न ढिलो हुन्छ । यसको उत्पादन लिन कम्तीमा पाँच महिना लाग्ने उहाँले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–२० राँझाका दिनेश कुर्मीले भने घरायसी उपभोगका लागि १० कट्ठामा कालानमक धान लगाउनुभएको छ । उत्पादन बढी भए बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कालानमक धानखेतीबाट राम्रो आम्दानी हुने सम्भावना भए पनि यसका केही चुनौती छन् । अन्य धानको तुलनामा बढी पानी आवश्यक पर्ने र पाक्न लामो समय लाग्ने भएकाले पानी जम्ने खेत तथा पर्याप्त सिँचाइ सुविधा भएका स्थानमा यसको खेती उपयुक्त हुने किसानको अनुभव छ ।
बजारमा राम्रो मूल्य पाउनुका साथै सहज रूपमा बिक्री गर्न सकिने भएकाले कालानमक धानखेती विस्तार हुँदै गएको किसान बताउँछन् । उत्पादन र बजारको सम्भावना राम्रो देखिएपछि आगामी वर्ष थप क्षेत्रफलमा खेती गर्ने उनीहरूको योजना छ ।
कम उत्पादन भए पनि उच्च मूल्यमा बिक्री हुने कालानमक धान बाँकेका किसानका लागि परम्परागत तथा हाइब्रिड धानखेतीको विकल्पका रूपमा विकसित हुँदै गएको छ ।







प्रतिक्रिया राख्नुहोस्