मदनचोक प्रहरी बिट आफ्नै भवनमा, बाँकेका आधा दर्जन प्रहरी कार्यालय अझै जीर्ण
बाँके। लामो समयदेखि साँघुरो प्रतीक्षालयको एउटा कुनाबाट नागरिकलाई सुरक्षा सेवा दिँदै आएको बाँकेको मदनचोकस्थित अस्थायी प्रहरी बिट आफ्नै नवनिर्मित भवनमा सरेको छ।
नयाँ भवन उद्घाटन भएसँगै स्थानीयवासीको वर्षौँदेखिको प्रतीक्षा पूरा भएको छ। तर, नरैनापुरसहित बाँकेका आधा दर्जन प्रहरी कार्यालय अझै जीर्ण भवनबाटै सेवा प्रवाह गर्न बाध्य छन्।
प्रतीक्षालयको एउटा कुनाबाट नागरिकका गुनासा सुन्ने, उजुरी दर्ता गर्ने र नियमित गस्ती गर्दै आएको प्रहरी अब व्यवस्थित भवनबाट सेवा प्रवाह गर्न सक्षम भएको छ। नयाँ भवनले प्रहरीको कार्यसम्पादन र नागरिकमैत्री सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
भवन निर्माणका लागि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक चक्र डम्बर पालले विशेष पहल र समन्वय गर्नुभएको थियो। जग्गा व्यवस्थापनदेखि निर्माण सम्पन्न गर्नसम्म उहाँले खेलेको भूमिकाको स्थानीयवासीले प्रशंसा गरेका छन्।
भवन उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले नगरको सुरक्षा व्यवस्थामा नगरपालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीले नयाँ भवनबाट नागरिकमैत्री सेवा प्रवाह प्रभावकारी हुनुका साथै अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताउनुभयो।
डीएसपी पालले प्रतीक्षालयबाट सेवा प्रवाह गर्दा प्रहरी र नागरिक दुवैलाई असहज हुने गरेको उल्लेख गर्दै आफ्नै भवनबाट सेवा छिटो, छरितो र विश्वासिलो हुने बताउनुभयो।
मदनचोक प्रहरी बिटले नयाँ भवन पाए पनि नरैनापुर गाउँपालिका–१ स्थित सुइयाको इलाका प्रहरी कार्यालयसहित जिल्लाका आधा दर्जन प्रहरी कार्यालयको भौतिक अवस्था भने अझै जीर्ण छ।
जीर्ण भवन र सीमित भौतिक संरचनाका बीच प्रहरीले नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा नियमित गस्तीको जिम्मेवारी निर्वाह गर्दै आएको छ। तर, प्रहरी कार्यालयको भवन निर्माण र मर्मतसम्भारमा पर्याप्त ध्यान पुग्न सकेको छैन।
नागरिकको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित भवनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले आवश्यक बजेट र योजनासहित भौतिक संरचना सुधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।








प्रतिक्रिया राख्नुहोस्