बाँके र बर्दियाका तीन रुग्ण आयोजनाको ठेक्का तोडियो
बाँके। निर्धारित समय र पटक–पटक थपिएको म्यादभित्र निर्माण तथा मर्मत कार्य सम्पन्न गर्न नसकेपछि बाँके र बर्दियामा सञ्चालित तीन वटा रुग्ण आयोजनाको ठेक्का तोडिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालगञ्ज डिभिजनमार्फत सञ्चालित तीन वटा आयोजनाको ठेक्का तोडिएको जानकारी दिनुभएको हो। पटक–पटक म्याद थप गर्दा पनि निर्माण कार्यले गति लिन नसकेपछि ठेक्का तोड्ने निर्णय गरिएको उहाँले बताउनुभयो।
ठेक्का तोडिएका आयोजनामा रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार तथा ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना रहेका छन्।
जमुनाह–पन्ध्रेखोला सडक मर्मत गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो भने अन्य दुई आयोजना आर्थिक वर्ष २०८१/८२ भित्र पूरा गर्नुपर्ने भए पनि निर्माण कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न सकेका थिएनन्।
मन्त्री लम्सालका अनुसार लामो समयदेखि अलपत्र र निर्माण प्रगतिको सम्भावना न्यून रहेका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने नीति मन्त्रालयले लिएको छ। उहाँले देशभरका रुग्ण आयोजनाको पहिचान गरी ठेक्का व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशनसमेत दिइसकेको जानकारी दिनुभयो।
आयोजनाहरू लामो समयसम्म अलपत्र पर्दा स्थानीय नागरिकले आवागमनमा सास्ती बेहोर्नुका साथै राज्यको लगानीसमेत निष्क्रिय रहने भएकाले नयाँ प्रक्रियाबाट निर्माण कार्य अघि बढाइने मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्