‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

काठमाडौँ । खानेपानी आयोजनाका योजना तथा डिजाइन, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र सरसफाइ क्षेत्रका कानुनी व्यवस्थासहितका विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी व्यवस्थापन, सरसफाइ, वातावरण, जलप्रवाह, जलविज्ञान तथा खानेपानी, सरसफाइ र स्वच्छता ९वास० क्षेत्रसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरू समेटिएका छन् ।
नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रमा नेपाली परिवेशअनुकूल प्राविधिक सन्दर्भ सामग्रीको अभावलाई सम्बोधन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको लेखक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा खानेपानी तथा ढल आयोजनाको योजना, डिजाइन, निर्माण र व्यवस्थापनका लागि आवश्यक प्राविधिक ज्ञान, डिजाइनका आधार, राष्ट्रिय मापदण्ड तथा कानुनी व्यवस्थालाई एउटै पुस्तकमा समेटिएको छ ।
हेरिटेज पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स प्रालि, भोटाहिटीले प्रकाशन गरेको पुस्तक खानेपानी तथा सरसफाइ क्षेत्रका इन्जिनियर, प्राविधिक जनशक्ति, विद्यार्थी तथा लोक सेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी तयार गरिएको हो । नेपालमा खानेपानी तथा सरसफाइका आयोजना निर्माण भइरहे पनि नेपाली भौगोलिक, सामाजिक, प्राविधिक र नीतिगत अवस्थासँग मेल खाने सन्दर्भ सामग्रीको आवश्यकता रहँदै आएको छ ।
विशेषगरी खानेपानी आयोजनाको डिजाइन गर्दा कुन मापदण्ड र आधार प्रयोग गर्ने, पानीको स्रोतको क्षमता कसरी निर्धारण गर्ने, खानेपानीको माग कसरी प्रक्षेपण गर्ने तथा प्रशोधन र वितरण प्रणाली कसरी डिजाइन गर्ने भन्ने विषयमा प्राविधिक जनशक्तिलाई एकै ठाउँबाट जानकारी उपलब्ध गराउने पुस्तकको उद्देश्य रहेको लेखक श्रेष्ठले बताउनुभयो ।
पुस्तकमा नेपालको जलस्रोत, खानेपानी तथा सरसफाइको वर्तमान अवस्था, योजना तथा डिजाइनका आधार, पानी सङ्कलन, प्रसारण तथा वितरण प्रणाली, पम्पिङ, खानेपानी प्रशोधन र उन्नत प्रशोधन प्रविधिबारे विस्तृत जानकारी समावेश गरिएको छ ।
त्यसैगरी खानेपानी सेवा प्रदायक संस्थाको व्यवस्थापन, आम्दानी नहुने पानी (नन रिभेन्यु वाटर), सञ्चालन तथा मर्मतसम्भार, वित्तीय व्यवस्थापन र जोखिम मूल्याङ्कनसम्बन्धी विषय पनि पुस्तकमा समेटिएका छन् ।
भूमिगत पानीसम्बन्धी खण्डमा भूमिगत पानीको बहाव, अनुसन्धान, ट्युबवेलको डिजाइन तथा निर्माण, पम्पिङ परीक्षण, पानीको गुणस्तर र संरक्षणका विषय समावेश छन् । यसले भूमिगत पानीमा आधारित खानेपानी आयोजनाको अध्ययन, डिजाइन तथा व्यवस्थापनमा संलग्न प्राविधिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लेखक श्रेष्ठले खानेपानी र सरसफाइलाई छुट्टाछुट्टै पूर्वाधारका रूपमा मात्र हेर्न नहुने बताउनुभयो । उहाँले पानीको स्रोतदेखि उपभोक्तासम्मको आपूर्ति तथा प्रयोगपछि निस्कने फोहोरपानी र दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनसम्म समग्र सेवा शृङ्खलालाई बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाली सन्दर्भ, राष्ट्रिय मापदण्ड, प्राविधिक ज्ञान र कानुनी व्यवस्थालाई एकै ठाउँमा समेटिएकाले पुस्तक खानेपानी तथा सरसफाइ क्षेत्रको अध्ययन, अनुसन्धान, आयोजना डिजाइन र प्राविधिक सेवा प्रवेशको तयारीमा रहेका जनशक्तिका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास गरिएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्