चिस्यान केन्द्र चलाउन इच्छुक सहकारीलाई २५ लाख अनुदान र निःशुल्क भवन

बर्दघाट । बर्दघाट नगरपालिकाका केही बहुउद्देश्यीय सहकारी संस्थाहरू बचत तथा ऋणको कारोबारमा मात्रै सीमित रहेको पाइएपछि नगरप्रमुख शम्भुलाल श्रेष्ठले उनीहरूलाई उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा जोडिन आग्रह गर्नुभएको छ ।
बर्दघाट नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले बहुउद्देश्यीय सहकारीको उद्देश्यअनुसार उत्पादन, कृषि तथा उद्यमशीलताका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
उनले नगरभित्रका किसानले उत्पादन गरेका फलफूल तथा तरकारी सङ्कलन, भण्डारण र बजारीकरणलाई सहज बनाउन चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा सहकारीहरूलाई अघि बढ्न आग्रह गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठका अनुसार चिस्यान केन्द्र निर्माण तथा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्ने इच्छुक सहकारीलाई नगरपालिकाले २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै, किसानका कृषि उपज सङ्कलन गरी चिस्यान केन्द्र सञ्चालन गर्न सहकारी तयार भए प्रविधिसहितको भवन निःशुल्क उपलब्ध गराउने र २५ लाख रुपैयाँ बीउ पुँजीका रूपमा अनुदान दिने गरी बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरका किसानले उत्पादन गरेका फलफूल तथा तरकारीको उचित भण्डारण र बजारीकरणमार्फत कृषि उत्पादनको मूल्य सुनिश्चित गर्न चिस्यान केन्द्र प्रभावकारी हुने विश्वास सहित यसको अपरिहार्यता समेत महसुस गरिएको छ ।
उनले सहकारी संस्थाहरूले बचत तथा ऋणको कारोबारसँगै उत्पादन र रोजगारी सिर्जना गर्ने गतिविधिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्