पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ
चितवन । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद रु एक लाख ७२ हजार ३०० समेत बरामद गरिएको छ ।
उहाँले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गर्नुभयो । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।
एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटियो
दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटिएको छ । राप्ती नगरपालिका-१ दमस्थानी मध्यवर्ती सामुदायिक वनमा अस्थिपञ्जर भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार झन्डै छ महिनाअघि मरेको गैँडाको खाग, खुरसहित अस्थिपञ्जर भेटिएको हो । गैँडा कालगतिले मरेको अनुमान गरिएको छ । तिवारीले खाग र खुर सुरक्षित रहेकाले गैँडा कालगतिले मरेको बताउनुभयो ।
पछिल्लो गणनाअनुसार यस निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६९४ बयस्क गैँडा रहेका छन् । देशभरमा यो सङ्ख्या ७५२ छ । सङ्ख्या बढी भएकाले प्राकृतिक कारणले गैँडाको मृत्युदर धेरै हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्