जुटको मूल्यबाट मोरङका किसान उत्साहित
विराटनगर । जुट खेती प्रति आकर्षण घट्दै गएको बेला यो वर्षको जुटको मूल्यले जुट खेती गर्ने किसान उत्साहित भएका छन् । प्रमुख नगदे बालीका रूपमा रहेको जुट खेती खेतीप्रति पछिल्ला वर्षहरुमा किसानको आकर्षण घट्दै गएको थियो ।

यो वर्ष अहिले जुटको मूल्य प्रतिमन आठ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अहिले सम्मकै सबैभन्दा बढी जुटको उच्च मूल्यले आगामी वर्ष जुट खेती विस्तार हुने किसानको भनाई छ ।
मोरङ धनपालथान–३ का किसान रामप्रित महतोले आफूले डेढ बिघा जग्गामा जुट खेती गरेको र यो वर्षको मूल्यले आगामी वर्ष जुट खेती बिस्तार गर्ने बताउनुभयो । उहाँले विगतमा जुट खेती गर्दा खर्च समेत उठाउन समस्या हुने परेकोमा यो वर्षको मूल्यले किसानलाई फाइदा पुगेको बताउनुभयो ।
सोही ठाउका अर्का किसान रन्जितकुमार गुप्ताले पाँच बिघा जग्गामा यो वर्ष जुट खेती गर्दै आउनुभएको छ । पाँच बिघामा जुट खेती गर्दा प्रतिबिघा ६० मनका दरले पाँच बिघामा ३ सय मन जुट उत्पादन हुने बताउनुभयो । गत वर्ष प्रतिमन चार हजारदेखि चार हजार दुई सयमा जुट बिक्री गर्दै आएकोमा यो वर्ष आठ हजार दुई सय सम्म प्रतिमन जुट बिक्री भई रहेको उहाँले बताउनुभयो ।
उत्पादन लागत बढ्नु, मजदुरको अभाव र मेहनतअनुसारको मूल्य नपाउँदा जुट खेतीतर्फ किसानको आकर्षण घटिरहेको वेला यस वर्षको जुटको मूल्यले किसानलाई निकै राहत भएको छ । धान, उखु बाली जस्तै सरकारले जुटको न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने अर्का किसान अनिल कुमार सतियारको भनाई छ ।
२०४१ सालतिर मोरङमा जुट खेतीको अवस्था निकै उत्साहजनक थियो । अहिले नेपाल सरकारले सबैभन्दा ठुलो र पुरानो ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनमा ल्याउनका लागि कार्यदल समेत गठन गरिसकेको छ । मोरङ र सुनसरी जिल्लामा अहिले निजी क्षेत्रका ६ वटा जुट मिल सञ्चालनमा छन् । सो ६ वटा उद्योगमा नेपालमा उत्पादित जुटले पाँच प्रतिशत मात्रै धान्दै आएको र बाँकी ९५ प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आउने गरेको छ ।
यस्तो अवस्थामा सरकारले जुट खेती प्रति किसानलाई आकर्षित गराउन अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने विराटनगर जुट मिलका निवर्तमान अध्यक्ष राजेन्द्र कार्कीको भनाई छ ।
दश बाह्र वर्ष अगाडी मोरङमा १० देखि १२ हजार हेक्टर क्षेत्रफल क्षेत्रमा जुट खेती हुँदै आएको थियो । यो वर्ष भने मोरङमा ५ हजार हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको कृषि ज्ञानकेन्द्र मोरङले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्