भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते
सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय एक वृद्ध गम्भीर घाइते हुनुभएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–६ स्थित वडा कार्यालय नजिकै सोमबार साँझ भालुको आक्रमणबाट स्थानीय निरकाजी मगर घाइते हुनुभएको हो ।
भालुको आक्रमणबाट मगरको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँको हाल फाप्लु अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । साँझ परिसकेकाले तत्काल उद्धार गर्न सम्भव नभएपछि भोलिपल्ट रिफर गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।
भालु वडा कार्यालय, धुलिखेल अस्पताल र छुल्यामु विद्यालय आसपासको जङ्गल क्षेत्रमा रहेको हुन सक्ने आशङ्का गरिएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई एक्लै घरबाहिर नपठाउन तथा रातिको समयमा अनावश्यक आवतजावत नगर्न सचेत गराइएको छ ।








प्रतिक्रिया राख्नुहोस्