तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद्को बैठक तत्काल आव्हान गर्न माग गर्ने प्रतिपक्षी दलहरूको निर्णय

काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठकले संघीय संसद्को बैठक तत्काल आव्हान गर्न माग गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आव्हानमा आज सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पछिल्लो समय सरकार जनभावना विपरीत गतिविधिमा संलग्न भएको र त्यसबारे बहस संसद् भित्रैबाट हुनुपर्ने साझा धारणा तय गरेको जनाएको छ ।

बैठकपश्चात् छलफलबारे जानकारी दिँदै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक बोलाउनका लागि सभामुख लगायत सत्तारूढ दलसँग अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

विशेषगरी पछिल्लो समय बिचौलियाको विषय धेरै आएको र त्यसमा न्यायालय समेत मुछिएको भन्दै यी विषयमा संसद्बाटै छलफल गरिनुपर्ने धारणा नेताहरूले राख्नुभएको नेता आङ्देम्बेले बताउनुभयो ।

बैठकमा प्रहरी आईजीपीको विषय, सञ्चार माध्यममा भइरहेको धरपकडलगायत विषयमा पनि छलफल भएको र यी विषयहरूलाई संस्थागत रूपमा संसद्बाटै बहस र छलफल गर्नुपर्ने भएकाले तुरुन्तै संसद् बैठक बोलाउन पहल गर्ने निर्णय भएको पनि नेता आङ्देम्बेले जानकारी दिनुभयो ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता प्रमेश हमालले पनि बैठकमा संसद् बैठक बोलाउन पहल गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकमा नेपाली काँग्रेसका सचेतक बासना थापा, नेकपा एमालेका सचिव तथा उपनेता पद्मा कुमारी अर्याल, नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन, प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओलीलागयतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button