सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को औपचारिक रुपमा काउन्टडाउन सुरु भएको छ ।
आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुर्खेत स्थित कर्णाली प्रदेश रङ्गशालामा एक औपचारिक कार्यक्रम वीच काउन्टडाउन सुरु भएको घोषणा गर्नुभयो । आगामी मङ्सिर १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगिता सुरु हुन अब ठिक ३० दिन बाँकी रहेको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिन र व्यवस्थित बनाउने उद्देश्यले आफु अहिले सुर्खेत केन्द्रित रहेको शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले बताउनुभयो । उहाँले पहिलो पटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन सबै पक्षसँग आग्रह गर्नु भयो ।
खेलकुद प्रतियोगिताको आयोजनास्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा आफूहरू युद्धस्तरमा जुटेको कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बताउनुभयो ।
त्यस्तै सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्णरुपमा लागिपरेकै कारणले आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
अहिले संघीय शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री मल्ल लगायतको उपस्थितिमा तयारी तथा समन्वय बैठकहरू तीव्र पारिएका छन् । खेलकुदको महाकुम्भ सुरु हुन अब महिना दिन मात्र बाँकी रहँदा देशैभरका खेलाडी र खेलप्रेमीहरुमा उत्साह थपिएको छ ।
१० हजार दर्शक अट्ने क्षमताको अत्याधुनिक कर्णाली प्रदेश रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि आफ्नो तयारीलाई तीव्रता दिएको राखेप सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो । यता कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्लास्तरीय खेलाडी छनोट, प्रदेशस्तरीय छनोट, बन्द प्रशिक्षण, खेलस्थलको व्यवस्थापन र आवश्यक पूर्वाधार सुधारका काम अघि बढाएको उपाध्यक्ष प्रमोद हमालले बताउनुभयो । विभिन्न उपसमिति गठन गरेर तयारीलाई व्यवस्थित बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।
यस पटक खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले व्यक्तिगत इभेन्टतर्फ स्वर्ण पदक विजेताले २० हजार रुपैयाँ, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ नगद पाउनेछन् । समूहगत इभेन्टतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । ३२ वटै खेल विधामा पदक जित्ने खेलाडीलाई पदकसँगै उक्त नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन् । विभिन्न ३२ खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको मुख्य खेल स्थलका रुपमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्