बडादसैँले समृद्ध सुदूरपश्चिम निर्माणमा प्रेरणा देओस्: मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादशैँले समुन्नत र समृद्ध सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा सङ्कल्पमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
नेपालीहरूको महान् चाड बडादशैँ २०८३ को अवसरमा एक शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री भट्टले दशैँले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको हो। उहाँले सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने बडादशैँले सबैमा सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप मजबुत बनाउने उहाँले उल्लेख गर्नुभएको छ।
“बडादशैँले हाम्रा मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा सङ्कल्पलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने अपेक्षा गर्दछु,” मुख्यमन्त्री भट्टद्वारा जारी सन्देशमा भनिएको छ।
सबै नेपालीमा आपसी प्रेम, भाइचारा, सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणका लागि एकजुट भएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्दै उहाँले दुर्गा भवानीको आशीर्वादले सबैमा सकारात्मक ऊर्जा, सुख, शान्ति र समृद्धिको उज्यालो फैलाओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्