तपाईँ सुन्दै हुनुहुन्छः

उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मनाइयो अष्टमी मेला 

डडेल्धुरा । डडेल्धुरामा रहेको धार्मिक शक्ति पीठ उग्रतारा मन्दिरमा भव्यताका साथ महाअष्टमी मेला सम्पन्न भएको छ । 

सुदूरपश्चिममा रहेका नौ वटा भगवतीका मन्दिरहरू मध्येको एक उग्रतारा मन्दिरमा आइतबार महाअष्टमी मेला लागेको हो । 

उग्रतारा मन्दिरमा घटस्थापनाको दिनदेखि दिनगन्ति गरेर आठौँ दिन पूजाआजासहित मेला लाग्ने गरेको मन्दिरका पुजारी पण्डित लोकराज भट्टले बताउनुभयो । 

शनिबार साँझ मन्दिरमा पूजाआजा गरिएपछि आइतबार बिहानैदेखि मेला लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । महाअष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा राँगा र बोकाको बलि चढाउने धार्मिक परम्परा रहिआएको छ । 

भाकल गरेकाहरूले दाइन, दमाह, रुइसिंग, बिकुल, घण्ट, त्रिशूल आदि बाजागाजा, सुनचाँदीका आभुषणसहित राँगा मन्दिरमा पुगाउने प्रचलन रहेको समेत पुजारी पण्डित भट्टले जानकारी दिनुभयो । 

करिब दुई हजार पाँच सय वर्ष पहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँ बस्ने साँकी जातिका स्थानीयले खेतीपाती लगाउने क्रममा हलो जोत्दै गर्दा हलोको फाली लागेर एउटा शिलाबाट रगत बग्न थालेको किम्बदन्ती छ  । 

आफूलाई खान ल्याएको खिचडीले रगत रोक्दा रोकियो । त्यसपछि यस स्थानमा देवी उत्पन्न भएर दर्शन मिलेको विश्वास छ । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवती मन्दिरमा पूजा गरिँदै आएको छ । तिनै लटाउली गाउँका साँकी र भट्ट जातीका पण्डित अहिले पुजारी रहनुभएको छ । 

साँकी जातीले अमरगढी नगरपालिका–तिलाडी पोखराका पार्की हाल कैनी जातीलाई अनुमति दिई राँगा काट्न भनेपछि अष्टमीका दिन भगवतीको पूजाआजासहित मेला लगाएर राँगाको बलि सुरु हुन्छ । बलि दिइएका राँगाको मासु पार्की कैनीजातीले उपभोग गर्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो । भाकलका आधारमा मनोकामना पूरा भएपछि राँगा र बोकाको बलि दिइने धार्मिक परम्परा र चलन रहिआएको उहाँले बताउनुभयो । 

उहाँकाअनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलिदिई पूजाआजा गरिन्छ भने दसैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । अष्टमीका दिन बिहान अमरगढी नगरपालिका ६ को दुुमडा र छचोडा गाउँ, अमरगढी नगरपालिका ८ को खनमडा गाउँ र अमरगढी नगरपालिका ५ को जिलोडा गाउँबाट (देउरा) बाजागाजासँगै देवताको आभूषणसहितको डोली ल्याउने गरिन्छ । यी चार वटा गाउँमा भएका देउरा सुनचाँदीका गरगहनासहितको डोली, भोकर, बिकुल घण्टासँगै दाहिन दमाह बजाउँदै नेजाध्वजासहित देउरो (शोभायात्रा) मन्दिरमा ल्याइन्छ । 

दसैँका दिन पूजाआजा सकिएपछि टीका लगाइ देउरो लगेर पुनः गाउँ फर्किने धार्मिक परम्परा सदियौँदेखि रहिआएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button