तपाईँ सुन्दै हुनुहुन्छः

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त भएको एक साताभन्दा कम समयमै शुक्रबार पदमुक्त हुनुभएको छ । आफूलाई वकिलका रूपमा प्रस्तुत गरेको विषयमा विवाद चर्किएपछि उहाँको कार्यकाल छोटिएको हो ।

file photo

एकचालिस वर्षीया जचारियाले मङ्गलबार पहिलो पत्रकार सम्मेलन गर्नुभएको थियो । १५ मिनेटभन्दा कम समय चलेको सम्मेलनमा उहाँले ट्रम्पका उपलब्धिबारे विवरण पढ्नुभएको थियो भने पत्रकारका तीनवटा प्रश्नको मात्र जवाफ दिनुभएको थियो । सम्मेलनको प्रस्तुतिलाई लिएर आलोचना भएपछि ट्रम्पले समेत उहाँलाई पदमा रहन पुनर्विचार गर्न सुझाव दिनुभएको थियो ।

जचारियाले टेलिभिजन अन्तर्वार्ता र सामाजिक सञ्जालमा आफूलाई वकिलका रूपमा चिनाउनुभएको थियो । क्यालिफोर्निया विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएकी उहाँले अमेरिकामा कानून व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गर्नुभएको थिएन । उहाँले बिहीबार परीक्षा असफल भएको स्वीकार गर्नुभयो । ट्रम्पसमर्थक सञ्चारमाध्यममा विवाद साम्य पार्न दिनुभएका अन्तर्वार्ताले पनि आलोचना रोक्न सकेनन् ।

उहाँले कानूनमा स्नातक गरेको आधारमा आफूलाई वकिल भन्न मिल्ने आश्वासन धेरै व्यक्तिले दिएको बताउनुभएको थियो । फक्स न्युजका प्रस्तोता सीन ह्यानिटीले पुनः बार परीक्षा दिनुभएको छ कि छैन भनेर सोध्दा उहाँले नदिएको जवाफ दिनुभयो ।

चीनबारे गरेको टिप्पणीले पनि जचारिया विवादमा पर्नुभयो । दक्षिणपन्थी प्रभावशाली व्यक्तित्व ज्याक पोसोबिकसँगको अन्तर्वार्तामा उहाँले चीनसँग उचित शौचालयसमेत नभएको टिप्पणी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले त्यसको प्रतिक्रियामा उहाँलाई चीनको भ्रमण अझ धेरै पटक गर्न सुझाव दिनुभएको थियो ।

जचारियाले ट्रम्पकी पूर्वप्रेस सचिव क्यारोलिन लेभिटको स्थान लिनुभएको थियो । ट्रम्पको पहिलो कार्यकालमा ह्वाइट हाउसका सञ्चार निर्देशक एन्थोनी स्कारामुचीको कार्यकाल ११ दिन मात्र रहेको थियो । उहाँले सामाजिक सञ्जालमा आफ्नो कीर्तिमान तोडिन सक्ने टिप्पणी गर्नुभएको थियो ।

जचारियाको पदमुक्ति नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि भएको हो । इरानसँगको युद्ध, मुद्रास्फीति र भ्रष्टाचारसम्बन्धी धारणाका कारण रिपब्लिकन पार्टीप्रति जनसमर्थन घटेको र निर्वाचनमा कमजोर परिणाम आउन सक्ने सर्वेक्षणहरूले देखाएका छन् । राष्ट्रपति ट्रम्प रिपब्लिकन उम्मेदवारको समर्थन जुटाउन देशव्यापी भ्रमणमा रहनुभएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button