उदयपुरको बेलकामा जङ्गली भाले हात्ती मृत फेला
उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जङ्गली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।
हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कोशी टप्पुवन्य जन्तु आरक्षबाट परीक्षण (पोस्टमार्टम)पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्