मुगुमा पहिरोले स्काभेटर पुर्दा चालकको मृत्यु, सहचालक घाइते
मुगु। मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोला क्षेत्रमा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने नयाँ सडक निर्माणका क्रममा सोमबार बिहान करिब ८:३० बजे माथिबाट खसेको पहिरोले स्काभेटर र चालकलाई पुरेको थियो।
प्रहरीका अनुसार बिहान ९:४० बजेदेखि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। बिहान १०:३० बजे उद्धार गरी चालकलाई उपचारका लागि ट्रकमार्फत प्राथमिक स्वास्थ्य केन्द्र रातापानी पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृत्यु हुनेमा बझाङ जिल्ला घर भएका स्काभेटर चालक विमल बाग रहेका छन्।
घटनामा घाइते भएका सहचालकको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्