तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्दो

बाँके। बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि प्रहरीले कारबाही तीव्र पारे पनि यस्तो गतिविधि रोकिएको छैन ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा अवैध उत्खनन तथा ढुवानीमा संलग्न १२ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार साउन र भदौ महिनामा गरिएको कारबाहीबाट कुल ५७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । अवैध उत्खनन तथा ढुवानीमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिने क्रम बढेको तथ्याङ्कले देखाएको छ ।

प्रहरीका अनुसार साउन महिनामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्ने चारवटा सवारीसाधन नियन्त्रणमा लिई १६ हजार रुपैयाँ जरिवाना गरिएको थियो । भदौ महिनामा भने नियन्त्रणमा लिइएका सवारीसाधनको संख्या बढेर आठ पुगेको छ । उक्त महिनामा ४१ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई महिनाको तथ्याङ्क तुलना गर्दा साउनको तुलनामा भदौमा नियन्त्रणमा लिइएका सवारीसाधनको संख्या दोब्बर भएको छ । त्यस्तै, जरिवाना रकमसमेत १६ हजार रुपैयाँबाट बढेर ४१ हजार रुपैयाँ पुगेको छ । यसले जिल्लामा अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि थप प्रभावकारी अनुगमन र नियमन आवश्यक रहेको देखाउँछ ।

नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले नदीको प्राकृतिक बहाव, तटीय क्षेत्र र वातावरणमा असर पार्न सक्ने भएकाले यसको नियन्त्रणमा नियमित अनुगमन, कानुनको प्रभावकारी कार्यान्वयन तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिन्छ ।

अवैध उत्खनन तथा ढुवानीमा संलग्न साधनमाथि कारबाहीसँगै यसको स्रोत, उत्खनन स्थल र ढुवानी प्रक्रियाको निगरानीलाई प्रभावकारी बनाउन सके मात्रै यस्ता गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button