तपाईँ सुन्दै हुनुहुन्छः

संकटमा निगालोका सामग्री: प्लास्टिकका सामानले विस्थापित हुँदै परम्परागत सीप

बाजुरा । परम्परागत रूपमा घर-घरमा प्रयोग हुँदै आएका निगालो र बाँसका सामग्री पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन्। बजारमा प्लास्टिकका नयाँ-नयाँ र सस्ता विकल्पहरूको प्रयोग बढेसँगै निगालो र बाँसको चोयाबाट तयार पारिने परम्परागत सामग्री भेट्टाउनै मुस्किल पर्न थालेको हो।

बाजुराको बडीमालिका नगरपालिका–५ का स्थानीय गणेश साउँदका अनुसार पहिले गाउँका हरेक घरमा डालो, नाङ्ग्लो, छाप्री, कुरु जस्ता सामग्री बनाइन्थ्यो। “अहिले ती सामग्रीको माग ह्वात्तै घटेको छ। उचित बजार मूल्य नपाउँदा यो पेसा नै संकटमा परेको छ,” साउँदले भन्नुभयाे।

बाजुरा लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाहरूमा निगालो तथा बाँसको प्रशस्त कच्चा पदार्थ उपलब्ध छ। तर, बजारीकरण र संरक्षणको अभावमा यसको उपयोग निरन्तर घट्दै गएको स्थानीयहरूको भनाइ छ।

निगालोको चोयाबाट बनाइने सामग्रीहरू वातावरणमैत्री र टिकाउ हुने भए पनि आधुनिक प्लास्टिकजन्य वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसक्दा र उचित मूल्य नपाउँदा यो मौलिक सीप नै हराउने जोखिम बढेको छ।

स्थानीय व्यवसायी तथा कालिगडहरूका अनुसार सरकारले परम्परागत हस्तकला र मौलिक सीपको प्रवर्धन तथा बजारीकरणका लागि विशेष योजना नल्याए यो पेसा र प्रविधि पूर्ण रूपमा विस्थापित हुने निश्चित छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button