संविधानसभा सदस्य अशोक रोकायको निधन
बाँके। संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य अशोक रोकायको उपचारका क्रममा आज बिहान काठमाडौंमा निधन भएको छ ।
क्यान्सर रोगसँग करिब १५ वर्षदेखि संघर्ष गर्दै आउनुभएका रोकायको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मध्यराति १ बजे निधन भएको उहाँकी छोरी मन्जु रोकायाले जानकारी दिनुभयो ।
रुकुमको छिवाङमा जन्मिनुभएका रोकायले दाङको बाघमारे हुँदै बाँकेको ढकेरीलाई आफ्नो कर्मथलो बनाउनुभएको थियो । शिक्षा, समाजसेवा र राजनीतिक परिवर्तनको अभियानमा लामो समय सक्रिय रहनुभएका उहाँले बाँकेको विनौना र बैजापुर क्षेत्रका विद्यालयमा शिक्षकका रूपमा समेत सेवा गर्नुभएको थियो ।
शिक्षकका रूपमा कार्यरत रहँदा शिक्षा प्रदान गर्नुका साथै सामाजिक चेतना र परिवर्तनका पक्षमा सक्रिय रोकाय २०४० को दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय हुनुभएको थियो । शिक्षकको पेसा छाडेर तत्कालीन माओवादी जनयुद्धमा सहभागी हुनुभएका उहाँले स्थानीय तहदेखि जिल्ला, क्षेत्र हुँदै केन्द्रीय तहसम्म विभिन्न राजनीतिक जिम्मेवारी सम्हाल्नुभएको थियो ।
रोकाय २०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । बाँकेको सामाजिक तथा राजनीतिक गतिविधिमा उहाँको सक्रिय भूमिका रहेको थियो ।
रोकायको परिवारसमेत परिवर्तनको आन्दोलनमा संलग्न थियो । उहाँका दुई छोरा मनोज रोकाय र महेन्द्र रोकाय बेपत्ता हुँदै सहिद बनेको पारिवारिक पीडाका बाबजुद पनि उहाँ राजनीतिक तथा सामाजिक अभियानबाट विचलित नभएको सहकर्मीहरूले बताएका छन् ।
पछिल्लो समय नेकपाको केन्द्रीय सदस्यका रूपमा राजनीतिक गतिविधिमा सक्रिय रहनुभएका रोकायले क्यान्सरसँग लामो समयदेखि संघर्ष गरिरहँदा पनि सामाजिक तथा राजनीतिक जिम्मेवारीलाई निरन्तरता दिनुभएको थियो ।
सहकर्मी तथा शुभेच्छुकहरूले रोकायलाई सरल, निष्ठावान् र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा स्मरण गरेका छन् । परिवार, समाज र राजनीतिक सहकर्मीका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुभएका उहाँले राजनीतिलाई व्यक्तिगत स्वार्थभन्दा सामाजिक जिम्मेवारी र सेवासँग जोडेर अघि बढाउनुभएको उनीहरूको भनाइ छ ।
शिक्षकदेखि राजनीतिक कार्यकर्ता, संविधानसभा सदस्य हुँदै सामाजिक अभियन्ताका रूपमा सक्रिय रोकायको जीवन शिक्षा, संघर्ष, राजनीतिक परिवर्तन र समाजसेवाको यात्राका रूपमा स्मरणीय रहेको बताइएको छ ।
रोकायको निधनले बाँकेको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न राजनीतिक दल, सामाजिक संस्था तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्