गाई गोरुसँगै बित्यो एक दशक, ६०० चौपायाको स्याहारमा राजु
दाङ । राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाई गोरुको हेरचाहमा व्यस्त हुनुहुन्छ ।
हाल उहाँले फाउन्डेशनमा रहेका ६०० गाई गोरुको हेरचाह गर्दै आउनुभएको छ । गाई गोरुको सङ्ख्या ठूलो रहेकाले फाउन्डेशनले सहयोगका लागि केही कर्मचारीसमेत राखेको छ ।
कर्मचारीको उचित परिचालन र कामको बाँडफाँड गर्ने जिम्मेवारी पनि भट्टराईकै छ । गाई गोरुलाई दानापानी खुवाउनेदेखि चरनका लागि लैजानेसम्मका कामको नेतृत्व उहाँले नै गर्नुहुन्छ । लामो समयदेखि गाई गोरुको हेरचाह गर्दै आएकाले फाउन्डेशनमा रहेका गाईगोरु उहाँले बोलाउँदा जता बोलाए पनि त्यतै पुग्ने गरेको उहाँ बताउनुहुन्छ । “मैले जहाँ बोलाएँ, त्यहीँ गाईगोरु आउँछन्”, उहाँले भन्नुभयो, “गाई गोरुले मेरो भाषा बुझ्छन् ।”
ठूलो सङ्ख्यामा रहेका चौपायालाई उचित व्यवस्थापन गर्न भने निकै समस्या रहेको उहाँको गुनासो छ । विशेषगरी गाई गोरुलाई खुवाउने घाँस र पराल पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।
केही दिनअघि मात्रै विश्वविद्यालयको जग्गा लिजमा लिएका एक व्यक्तिले घाँस उपलब्ध गराइदिएपछि गाई गोरुलाई घाँस खुवाउन सहज भएको उहाँले बताउनुभयो । गाईगोरु देख्दा नै आफूलाई खुसी लाग्ने गरेको भट्टराईको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्