ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबिच कडा प्रतिस्पर्धा
साओ पाउलो। ब्राजिलमा आइतबार हुने राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोबिच मुख्य प्रतिस्पर्धा हुँदैछ । वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेदवारबिचको प्रतिस्पर्धालाई हालैका वर्षमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक भिडन्तका रूपमा हेरिएको छ ।

कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबिच अक्टोबर २५ मा दोस्रो चरण (रनअफ) निर्वाचन हुनेछ । अन्य १० उम्मेदवार चुनावी मैदानमा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान गरिएको छ । असी वर्षीय लुला सातौँ पटक राष्ट्रपति पदका लागि चुनाव लडिरहनुभएको छ ।
उहाँ चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ, यद्यपि यसअघि उहाँका कार्यकाल लगातार थिएनन् । ४५ वर्षीय फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिन्छन् । करिब १५ करोड ९० लाख मतदाता रहेको यस निर्वाचनलाई ब्राजिलको भविष्यको आर्थिक तथा कूटनीतिक दिशासँग जोडेर हेरिएको छ ।
बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको प्रमुख आधार बनाउनुभएको छ । उहाँले दुर्लभ खनिजलगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । साथै, सत्तापलटको प्रयास सम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय भोगिरहेका आफ्ना पिता जायर बोल्सोनारोलाई रिहा गराएर राजनीतिमा फर्काउने प्रतिबद्धता पनि जनाएका छन् ।
यता, लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनुभएको छ । ट्रम्प प्रशासनले ब्राजिलको निर्यातमा उच्च भन्सार शुल्क लगाउने, वासिङ्टनस्थित ब्राजिलका राजदूतको भिसा रद्द गर्ने तथा जायर बोल्सोनारोमाथिको अनुसन्धानसँग सम्बन्धित सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाएपछि लुलाले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।
आइतबारको मतदानमा राष्ट्रपतिसँगै २७ राज्यका गभर्नर, राज्य विधायिकाका सदस्य, सङ्घीय कङ्ग्रेसका सबै ५१३ सदस्य तथा ८१ सदस्यीय सिनेटका ५४ सदस्य पनि निर्वाचित हुने छन् । राजनीतिक विश्लेषक थोमस ट्राउम्यानका अनुसार अन्तिम समयमा उम्मेदवार वा उनीहरूका सहयोगीबाट हुने कुनै पनि गल्तीले अनिर्णीत मतदाताको निर्णयमा प्रभाव पार्न सक्छ । उहाँका अनुसार ब्राजिलको तीव्र राजनीतिक ध्रुवीकरणका कारण यो निर्वाचन नीतिगत बहसभन्दा आरोप-प्रत्यारोपमा केन्द्रित भएको छ ।
चार वर्षअघि लुलाले जायर बोल्सोनारोलाई करिब २१ लाख मतको झिनो अन्तरले पराजित गर्नुभएको थियो । त्यसयता महँगी, भ्रष्टाचार र राजनीतिक विवादका कारण मतदाताको धारणा फेरिएको विश्लेषण गरिएको छ । साओ पाउलोस्थित इन्स्पर विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्लोस मेलोजका अनुसार लुलाको उमेर र लामो राजनीतिक यात्राप्रति केही मतदाता असन्तुष्ट देखिए पनि उनी अझै बलियो प्रतिस्पर्धी छन् । अर्कोतर्फ, भ्रष्टाचार सम्बन्धी आरोप र धार्मिक समूहको आलोचनाले बोल्सोनारोलाई पनि चुनौती थपेको छ । त्यसैले यस पटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने विश्लेषकको अनुमान छ । रासस/एपी







प्रतिक्रिया राख्नुहोस्