बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रतिनिधिसभामा सांसदहरूको माग
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएकोले तत्काल, राहत उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले बाढी, पहिरोमा परी २१ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएको र कयौँ परिवार घरवारविहिन भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ताहरूको खाजी, घाइतेको उपचार र विस्थापितहरूलाई उचित क्षतिपूर्तिका साथै सुरक्षित व्यवस्थापन गर्न माग गर्नुभयो ।
सांसदहरुले बाढी पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्दै विपद्सँग जोडिएका समस्या समाधानका लागि छुट्टै कानुन आवश्यक भएको बताउनुभयो ।
वर्षासँगै काली गण्डकीमा आएको बाढीका कारण गण्डकी प्रदेशका ११ वटै जिल्लामा ठूलो क्षति पुगेको, मोटरेबल पुलहरू पूर्णरुपमा अवरुद्ध हुँदा एक जिल्लाबाट अर्को जिल्लाको यातायात सेवा अवरुद्ध भएकाले तत्काल समस्या समाधानका लागि पहल गर्न माग गर्नुभयो ।
सांसदहरुले सरकारले पूर्वाग्रहका आधारमा नागरिकहरू पक्राउ गर्ने कार्य कानुन विपरीत भएको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बाढी पहिरोले क्षति पु¥याएका जिल्लाहरूमा विद्युत् तथा सञ्चार सेवा सुचारु गर्नुपर्ने, सडक पूर्वाधारको मर्मत तथा पुलहरूको पुन निर्माणमा तीव्रता दिनुपर्ने, बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, सरकार र सदनप्रति नागरिकमा देखिएको निराशाप्रति गम्भीर बन्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्